भगवानकै नाममा भ्रष्टाचार,के कारबाही होला त?

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपति मन्दिर हेर्न पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापा भ्रष्ट कर्मचारी जोगाउन लागिपारेका छन् ।

सेटिङमा रहेका कर्मचारीलाई कारबाही हुँदा आफूलाई पनि भ्रष्टाचार मुद्दामा कारबाही हुने डरले सदस्य सचिव थापा भ्रष्ट कर्मचारीलाई जोगाउन लागिपरेका हुन्।

गत माघ १४ गते पशुपति मन्दिरबाट दान पेटिका तीन घण्टा हराएको थियो। उक्त घटनामा संलग्न रहेका दुई कर्मचारीलाई जोगाउन थापा अनेक उपाय खोजिरहेका छन् ।

दान पेटिका हराएको घटना छानबिन गर्न पशुपति क्षेत्र विकास कोषले सञ्चालक परिषद् सदस्य देवीप्रसाद बरालको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन नगरेर सदस्य सचिव थापाले भ्रष्ट कर्मचारी जोगाउन खोजेका हुन् ।

छानबिन समितिले संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरी शंकर पराजुली र मानव संसाधन र सार्वजनिक खरिद महाशाखाका निमित्त प्रमुख रेवती रमण अधिकारीलाई दोषी ठहर गरेको छ। छानबिन समितिको प्रतिवेदन कार्यान्वयन भए पराजुली र अधिकारीलाई भ्रष्टाचार मुद्दामा कारबाही हुने छ ।

छानबिन समितिले प्रतिवेदन बुझाएको महिना दिन बितिसकेको छ। तर, सदस्य सचिव थापा भने कार्यान्वयन गर्ने पक्षमा छैनन् । बरु, छानबिन समितिको प्रतिवेदनमै प्रश्न उठाउन थालेका छन् ।

सदस्य सचिव थापाले छानबिन समितिको प्रतिवेदन नै ठीक नभएकाे बताउदै आएका छन्। यस्तो प्रतिवेदन कार्यान्वयन त के सार्वजनिक गर्नै उपयुक्त छैन भनेर झारा टार्ने काम गर्दै आएको स्राेतकाे दाबी छ । 

स्रोतका अनुसार पराजुली र अधिकारीले सदस्य सचिव थापाकै सेटिङमा काम गरिरहेका छन् । दान पेटिका पनि सेटिङकै आधारमा लुटिएको स्रोतले बतायो । लामो समयदेखि दान पेटिका लुट्ने काम हुँदै आएको भए पनि यस पटक भने सेटिङ नमिल्दा यो घटना सार्वजनिक भएको स्रोतले बतायो ।

सदस्य सचिव थापाले छानविन समितिको प्रतिवेदनमा प्रश्न उठाउनुको मुख्य कारण आफ्नो सेटिङमा रहेका पराजुली र अधिकारीलाई कारबाही हुने डर रहेको छ। त्यति मात्र नभएर आफ्नै सेटिङमा काम गरिरहेकाहरूलाई कारबाही हुँदा आफूलाई पनि कारबाही हुने उनले बुझेका छन्।

सेटिङका कर्मचारीलाई दोहोरो जिम्मेवारी

सेटिङमा काम गर्दै आएका रेवती रमण अधिकारीलाई सदस्य सचिव थापाले दोहोरो जिम्मेवारी दिएका छन् ।

कोषमा धेरै कर्मचारी जिम्मेवारी विहीन रहेता पनि सदस्य सचिवसँगको सेटिङमा रहेका कारण अधिकारीले मानव संसाधन महाशाखा र सार्वजनिक खरिद महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन् ।

मानव संसाधन महाशाखाका प्रमुख सेटिङकै भएपछि भ्रष्टाचार गर्न सकिने क्षेत्रमा सेटिङकै कर्मचारी खटाउन सहज हुने भएकाले सदस्य सचिव थापाले अधिकारीलाई नै उक्त महाशाखाको निमित्त प्रमुखको जिम्मेवारीमा राखेको आरोप लाग्ने गरेको छ।

त्यसै गरी, सार्वजनिक खरिदका क्रममा भ्रष्टाचार गर्न सहज हुने गरी सदस्य सचिव थापाले अधिकारीलाई नै उक्त महाशाखाको निमित्त प्रमुखको जिम्मेवारी दिएको बुझिन्छ ।

कोषका एक सदस्यका अनुसार सेटिङमा रहेका महाशाखा वा शाखाबाट माग भए मात्र आवश्यक सामान खरिदका लागि अधिकारीले अनुमति दिने गरेका छन्।

‘सदस्य सचिव नै घुस डिल गर्छन्’

स्रोतका अनुसार अघिकांश केसमा सदस्य सचिव थापा आफैले घुस डिल गर्ने गरेका छन्। यो विषय पशुपति क्षेत्र विकास कोषको तालुक मन्त्रालयका मन्त्री सुदन किरातीले थाहा पाइसकेका छन्।

मन्त्री भएपछि ब्रिफिङ लिन कोष पशुपति पुगेका मन्त्री किरातीले ‘पशुपतिनाथको नाममा करोडौँको घुस डिल हुन्छ भन्ने सुनेको छु’ भनेका थिए। स्रोतले भने अनुसार मन्त्री किरातीको उक्त भनाइ सदस्य सचिव थापाप्रति लक्षित थियो।

सदस्य सचिव थापाले पशुपति क्षेत्रमा बोलपत्र मार्फत काम गर्न आएका र आउने निजी क्षेत्रका व्यवसायीहरूसँग काम सहज बनाइदिने भन्दै घुस डिल गर्ने गरेका छन्।

थापाले सिधै घुस लिन डिल नगरेपनि कर्मचारीकाे सेटिङमा सबै काम गर्ने गरेकाे स्राेतकाे दाबी छ। यति हुँदा पनि कारबाही नभए अरू केही विकल्प खाेजेर भएपनि नछाेड्ने स्राेतकाे बतायाे।