हाम्रो आलोचना गर्नेहरू भ्रष्टाचारमा जेल कोच्नुपर्ने खालका हुन्: रवि लामिछाने

फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुमाथि आलोचना गर्नेहरूको इतिहास र काम हेर्दा त्यस्ता मानिसहरु भ्रष्टाचारको आरोपमा जेल कोच्नुपर्ने खालका भएको बताएका छन्।

शनिबार तनहुँको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले भ्रष्टाचार गर्नेहरुले नै रास्वपा र आफ्नो आलोचना गर्ने गरेको बताएका हुन्।

त्यस्ता मानिसहरु हामीलाई प्रश्न गर्छन्, जसलाई त हामीले हाम्रो सरकार बन्यो भने भ्रष्टाचारको आरोपमा जेल कोच्ने भनेर लिस्ट बनाइरहेका छौं।

आम नागरिकले सोधेको प्रश्नको जवाफ जहाँ पनि दिन तयार छु। तर, भ्रष्ट मान्छेले सोधेको एउटा पनि प्रश्नको जवाफ दिन्नँ। किनकी तिनलाई त जेल कोच्ने हो,उनले भने।

बर्षौंदेखि शासन गर्नेहरूले मुलुकलाई यो अवस्थामा पुर्‍याएकाले उनीहरु जवाफदेही हुनपर्ने बताए। त्यस्ता व्यक्ति र राजनीतिज्ञहरूले आफूलाई प्रश्न गर्न नमिल्ने पनि उनको भनाइ छ।

‘जनताको भोट लिएर गएर उनीहरुलाई यो देश छोड्न वाध्य बनाउनेहरुले हामीलाई प्रश्न सोध्न लाज मान्नुपर्छ,उनले भने। लामिछानेले कैयौं मान्छेहरू आफ्नो हातमा हतकडी लगाउन प्रतिक्षा गरेर बसेको भएपनि त्यसो नहुने बताए।