नेपालमाथि भितनामको सहज जित

काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा समेत नेपाल पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार घरेलु टोली नेपाल बलियो राष्ट्र भियतनामसँग २-० गोल अन्तरले पराजित भएको हो ।

भियतनामको जितमा फाम हाइ यनले दुई गोल गरिन् । फामले दुई मिनेट भित्र दुई गोल गर्दै पाहुना टोलीलाई जित दिलाएकी हुन् ।

खेलको छैटौं मिनेटमा फामले गोल गर्दै भियतनामलाई सुरुआती अग्रता दिलाएकी थिइन् । एनगुएन थि मेको कर्नरमा नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा फामले गोल गरिन् ।

त्यसको एक मिनेट नबित्दै सातौं मिनेटमा फामले व्यक्तिगत दोस्रो गोल गर्दै भियतनामलाई २-० को जित दिलाईन् । ट्रान थि ठु थाओको क्रसमा नेपालका तीन डिफेन्डरको बीचमा रहेकी फामले बल नियन्त्रणमा लिदै उत्कृष्ट गोल गरिन् ।

दोस्रो हाफमा भियतनामविरुद्ध हाबी भएपनि नेपालले केहि गोलको अवसर भने खेर फालेको थियो ।

खेलको २८ औं मिनेटमा विमला विकको लामो पासमा नेपालकी सावित्रा भण्डारीले प्रहार गरेको बल भियतनामी गोलकिपर खोङ थि हाङले उत्कृष्ट बचाउ गरिन् ।

३९ औं मिनेटमा नेपालकी सावित्राले गोलको अवसर खेर फालिन । सरु लिम्बुको पासमा सावित्राले पेनाल्टी क्षेत्रभित्रबाटको फितलो प्रहार भियतनामी गोलकिपर खोङ थि हाङले बचाईन् ।

खेलको ६६ औं मिनेटमा नेपालको गोलको अर्को मौका गुमाएको थियो । भियतनामी डिफेन्डर ली थिले हेडरमार्फत क्लियर गरेको बल डिबक्स भित्र नियन्त्रणमा लिदै दिपा शाहीले प्रहार गरेको बल पोलमा लाग्दै फर्किएको थियो ।

नेपालमाथि लगातार दुई जित निकालेसँगै भियतनाम भने दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो खेलमा भियतनामले नेपाललाई ५-१ गोल अन्तरले हराएको थियो ।