पूर्वमाओवादी नेताहरू ओलीसँग असन्तुष्ट,एमाले छोड्ने यस्तो छ अन्तिम तयारी

काठमाडौं। नेकपा माओवादी केन्द्रमा हुँदा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछि शक्तिशाली नेता मानिन्थे, रामबहादुर थापा बादल तर, एमाले र माओवादीबीच एकता भएर बनेको नेकपा भंग भएपछि एमाले रोजेका बादल अहिले राष्ट्रिय राजनीतिमा चर्चाको पात्र बन्न सकेका छैनन्, अर्थात् गुमनाम छन्।

एमालेको १० औं महाधिवेशनबाट पार्टीमा तेस्रो वरियताको उपाध्यक्ष बनेका बादल अहिले पार्टीको बैठकमा उपस्थित हुनबाहेक अन्य सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।

गत मंसिरमा भएको निर्वाचनमा पनि उनले उम्मेदवार बन्न अस्वीकार गरे। अहिले एमालेले देशव्यापी रुपमा मिसन ग्रासरुट अभियान चलाए पनि उनी कुनै कार्यक्रममा सहभागी भएका छैनन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अन्य शीर्ष नेताहरु पार्टीको कार्यक्रममा व्यस्त भए पनि उनलाई पार्टी नेताहरुको दौडधुपले छोएको छैन।

चुनावमा पार्टीले दिएको टिकट अस्वीकार गरेका बादल एमालेको चुनावीसभामा पनि देखिएनन्।यद्यपि उनकी श्रीमती नैनकला थापा भने समानुपातिक सांसद बनेकी छन्। उनीमाथि श्रीमतीलाई सांसद बनाएको आरोप पनि लाग्यो।

बादलसहित पूर्वमाओवादी पृष्ठभूमिका नेताहरु लेखराज भट्ट,टोपबहादुर रायमाझी,मणि थापालगायत नेताहरु एमालेमा छन्। महाधिवेशनबाट भट्ट र रायमाझीले सचिव र थापाले स्थायी कमिटीको जिम्मेवारी पाएका छन्। त्यसमध्ये ओलीले भट्टलाई च्यापेको देखिन्छ।

भीम रावल आफूविरुद्ध लागेपछि सुदूरपश्चिममा पार्टीलाई बलियो बनाउन नै ओलीले भट्टलाई प्रदेश इञ्जार्जको जिम्मेवारी दिएको बताइन्छ। माओवादीमै हुँदादेखि नै भट्ट सुदूरपश्चिममा बलियो पकड राख्ने नेतामा पर्छन्।

के एमालेमा असन्तुष्ट छन् पूर्वमाओवादीहरु

बादल र थापाबाहेक रायमाझी र भट्ट पछिल्लो समय पार्टीको कार्यक्रममा पनि सक्रिय देखिन्छन्। प्रतिनिधि सभामा पूर्व माओवादीबाट ९ जना नेताले टिकट पाएकोमा टोपवहादुर रायमाझी र ज्वाला कुमारी साह निर्वाचित भएका छन्।

प्रदेशमा भने यो संख्या धेरै छ। टिकट पाएका प्रभु साहले आफ्नै समूह बनाएर स्वतन्त्र चुनाव लडे र जितेर अहिले आफ्नो पार्टी समेत बनाइ सकेका छन्।

नेताहरुले पार्टीमा आफूहरुलाई उचित जिम्मेवारी नदिएको गुनासो आन्तरिक रुपमा राख्न थालेको चर्चा छ। जुन कुरा माओवादी पृष्ठभूमिका एमाले नेता मणि थापाको पछिल्लो अभिव्यक्तिले पनि पुष्टि गर्छ।

गतसाता उनले एक मिडियासँग भनेका थिए, ‘माओवादी छाडेको पछुतो मलाई छैन। तर, हामी नयाँ एमाले बनाउन गएका हौं।

मैले स्थायी समितिमा भनेको छु,पुरानो एमालेको भूत जाग्यो। केपी ओलीभन्दा डेमोक्रेट प्रचण्ड हुनुहुन्छ कुरा सुन्ने मामिलामा। तर, कार्यान्वयन गर्ने कुरा एउटै हो। प्रचण्डले कमसेकम सुन्छन्, केपी ओली कमरेड सुन्नुहुन्न भन्दै उनले गुनासो समेत गरेका थिए।

अब आफूहरुको एमालेभित्रै रहेर संघर्ष गर्ने बाहेक अर्को विकल्प नभएको उनको बुझाइ छ। म अहिले एमाले छोड्ने कुरामा छैन। हामी प्रचण्डसँग फर्किँदैनौं। समग्र समाजवादी केन्द्रको कुरा आयो भने एउटा कुरा भयो,उनको भनाइ थियो।

१२ बुँदेहरूले जनयुद्धलाई विरोध गर्न नमिल्ने भन्दै नेकपाको दस्तावेजमा माओवादी जनयुद्धले गणतन्त्र ल्याउन मुख्य भूमिका खेलेको भनेकाले आफूहरुले एमाले नेतृत्व स्वीकारेको उनको भनाइ छ।

नेकपा भंग भएताका ओलीले माओवादी नेताहरुलाई फकाउनकै लागि एमाले नै नेकपाको निरन्तरता भएको व्याख्या गरेका थिए।

केही दिन अगाडी लेखराज भट्ट र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको थियो। भने प्रचण्डले फेरिपनि पार्टीमा फर्किन आग्रह गरेको तर भट्टले अहिले तत्काल सम्भव नभएको जवाफ दिएको स्रोतको दाबी छ।

ओलीले जनयुद्धको विरोध गरेपछि पूर्व माओवादीहरू एमाले छोड्ने मुडमा पुगेको र पार्टी भित्र धेरै नेता कार्यकर्ताको अपमान समेत भएको बैठकहरूमा कुरा उठ्ने गरेको छ। तर एमाले छोडे पनि तत्काल माओवादी केन्द्रमा फर्किने सम्भावना भने नरहेको स्रोतले बतायो।