सुदूरपश्चिममा आज सिस्नो खेलेर बिसु पर्व मनाइँदै

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा नयाँ वर्षलाई बिसु पर्वको रुपमा मनाइँदैछ । सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व एक आपसमा सिस्नो खेलेर मनाइन्छ।

हरेक नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमवासीले बिसु पर्वका रुपमा मनाउने गर्दछन् । बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु फर्कने चलन छ।

बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सबै प्रकारका विष निस्कृय हुने विश्वास छ।

वैशाख १ गतेको दिन बिहानै नुहाएर सिस्नो लगाउने प्रचलन छ। यसरी सिस्नो लगाउँदा अघिल्लो वर्ष आफ्नो शरीरमा कुनै लागेको भए त्यसबाट मुक्त भइने र नयाँवर्षमा जुनसुकै विशालु जीवहरुबाट बचिन्छ भन्ने धार्मिक मान्यता रहीआएको छ।

देवर–भाउजू, नन्द–भाउजू, साली–भिनाजु, फुपू–सालीहरुकाबिचमा सिस्नो पानी छ्याप्दै बिसु पर्व मनाउने चलन रहेको छ।

आज यहाँ बिभिन्न समुदायमा लौरो नचाउने, बाघ भालु जस्ता जंगली जनावरहरुको जस्तै अभिनय गर्ने र देउडा नाच्ने चलन पनि छ ।