ढाकाकुमार श्रेष्ठको कारबाहीमाथि संसद सचिवालयले अध्ययन गर्ने

काठमाडौं। संघीय संसद् सचिवालयले रास्वपा सांसद ढाकाकुमार श्रेष्ठमाथि गरेको कारबाहीबारे अध्ययन गर्ने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद श्रेष्ठलाई चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो।

उक्त कारबाही राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार कानुनसम्मत छ कि छैन भनेर संसद सचिवालयले आइतबारबाट अध्ययन गर्न लागेको हो।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४, ३५ र ३६ मा संसद् सदस्यले दल त्याग गरेमा वा निष्कासन गरेमा त्यसको सूचना संसद्‍मा दिनुपर्ने र सो सूचना दर्ता भएको १५ दिनभित्र सभामुखले प्रतिनिधि सभाको बैठकमा वाचन गरेर जानकारी गराउनुपर्ने व्यवस्था छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रूपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठलाई कारबाही गरेको थियो ।