नाबालिकालाई जबरजस्तीकरणी गर्ने अभियुक्त अझै फरार: पीडित परिवार निरास

सांकेतिक तस्वीर

काठमाडौं। सर्लाहीको हरिवन नगरपालिका–९ कि ११ वर्षीया नाबालिकामाथि भएको जबर्जस्तीकरणीका अभियुक्तलाई करिब ४५ दिन हुँदा पनि प्रहरीले नियन्त्रणमा लिन सकेको छैन।

५५ वर्षिय नारायण गौतमले फागुन २५ गते बिहीबार दिउँसो पानी खान गएको समयमा नाबालिकामाथि जबर्जस्तीकरणी गरेको भन्दै पीडित परिवारले फागुन २९ गते ईलाका प्रहरी कार्यालय हरिवनमा उजुरी हालेका थिए।

उजुरी हालेको भोलिपल्ट फागुन ३० गते उजुरी दर्ता भएपनि हालसम्म पनि अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।

अभियुक्त गौतमले स्थानीय अन्दाजी ११ वर्षीय नाबालिकालाई जबर्जस्तीकरणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपनि प्रहरीले खोजी रहेको बहानाबाजीमात्र गरेको पीडित परिवारको आरोप छ।

उजुरी दिएको ४५ दिन हुँदा पनि अभियुक्तलाई नियन्त्रणनमा नलिएर आफूहरुलाई थप पीडित बनाएको परिवारजनको गुनासो छ।

पीडित परिवारजनका अनुसार आमासँग बजार गएर घर फर्किने क्रममा नाबालिका छोरी बाटैमा घरपर्ने छिमेकी गौतमको घरमा पानी खान जाँदा गौतमले भित्र बोलाएर जबर्जस्तीकरणी गरेका हुन्।

गौतमको घरमा पानी खान गएकी छोरी अचानक चिच्याउँदा आफू छोरीलाई के भयो भनी जाँदा गौतमले जबर्जस्तीकरणी गरेको देखेको पीडितकी आमाले बताइन्।

उनका अनुसार त्यसलगत्तै स्थानीय जनप्रतिनिधिहरुलाई खबर गरेको र स्थानीय ईलाका प्रहरी कार्यालय हरिवनमा उजुरी दर्ता गरेको भएपनि स्थानीय जनप्रतिनिधि हरिवन नगरपालिका ९ का वडा अध्यक्ष कोकिला नन्द उप्रेती, हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी, निवर्तमान नगर प्रमुख गणेश प्रसाई सहितका स्थानीय राजनैतिक दलका नेताहरुका साथै ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक शिवराम थापाले आफूहरुलाई आर्थिक प्रलोभनामा पारेका र जबर्जस्तीजस्तो जघन्य अपराधका अभियुक्तलाई नियन्त्रणमा नलिएर आफूहरुलाई थप पीडित बनाएको पीडित परिवारको भनाइ छ।

अभियुक्तलाई यथाशीघ्र नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्न भन्दै स्थानीय र पीडित परिवारले पटक पटक पूर्व पश्चीम राजमार्गमा चक्का जाम गरेका थिए।

पीडित परिवार र स्थानीयले पुर्व पश्चीम राजमार्गमा चक्का जाम गरेपछि अभियुक्त गौतमलाई यथाशीघ्र नियन्त्रणमा लिने भनिएको थियो।

तर, ४५ दिन बितिसक्दा पनि अभियुक्तलाई हाल सम्म पनि नियन्त्रणमा नलिएर आफूहरुमाथि ठूलो अन्याय गरेका पीडित परिवारको गुनासो छ।

यता, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले बलात्कारजस्तो जघन्य अपराधका घटनामा हुनै किसिमको सम्झौता तथा मिलापत्र नहुने बताएका छन्।

उनले बलात्कारमा संग्लग्नलाई जो जसले संरक्षण दिन्छ त्यसलाई समेत नियन्त्रणमा लिएर आवश्यक कार्बाही गर्ने बताए।

फरार अभियुक्त गौतमलाई खोजी गर्ने कार्य जारी रहेको र जसरी पनि नियन्त्रणमा लिएर आवश्यक कार्बाही गरिने सर्लाहीका प्रहरी उपरिक्षक सुवेदीले बताए।