ओलीको प्रचण्डमाथि गम्भीर आरोप: सरकारले नै ममाथि आक्रमण गर्न लगायो

फाइल तस्वीर

काठमाडौं । संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले आफूमाथि आक्रमण गर्न लगाएको आरोप लगाएका छन्।

नेकपा (एमाले) सांसदीय दलको बैठकमा ओलीले सरकारले नै लगाएका १५/२० जनाको समूहले आफूमाथि लगातार आक्रमणको प्रयास गरेको बताए ।

प्रमुख प्रतिपक्षी दलको नेता एउटा विद्यालय शिलान्यासमा जाँदा आक्रमण हुन्छ। तर, सरकारलाई त्यो कुनै चासोको विषय नै बन्दैन,ओलीले भने,सरकारकै योजनामा भएर त होला, म जहाँ जान्छु, १५/२० जनाको समूहले अगाडि र पछाडिबाट अक्रमण गर्छ।

उनले प्रहरीलाई केही नगर्नु भन्ने निर्देशन दिएर अराजकतालाई सरकारले संरक्षण गरेको पनि आरोप लगाए।प्रहरीभन्दा धेरै संख्याका अराजकहरुले आक्रमण गर्छन् ।

प्रहरीको अनुहार ढुंगाले कुच्याउँछन्। तर, प्रहरी केही पनि गर्दैन,ओलीले भने, प्रहरीलाई केही नगर्नु भन्ने निर्देशन छ रे ।उनले आफ्नो ५८ वर्षको राजनीतिमा यस्तो अवस्था कहिल्यै नदेखेको बताए।

केही हप्ताअघि झापासहित पूर्वका जिल्लामा ओलीलाई कालो झण्डा देखाउनेसहितका अवरोध भएका थिए।

कोसी प्रदेशको नामकरणविरुद्धका पहिचानवादीहरुका तर्फबाट ओलीलाई कालो झण्डा देखाउने तथा अवरोध गर्ने काम भएको थियो । ओलीले भने नाम एउटाको, काम अर्कैको भएको आरोप लगाएका छन्।