कांग्रेसले बालकृष्ण खाणलाई निलम्बन नगर्ने

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई तत्काल निलम्बन नगर्ने भएको छ।

पूर्वगृहमन्त्रीसमेत रहेका खाण भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन्। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो।

बैठकमा खाणमाथि गम्भीर अभियोग लागेकोले पार्टीबाट निलम्बन गरिनुपर्ने आवाजसमेत उठेको थियो। यो प्रकरणमा खाणको संलग्नता पुष्टि नभइसकेकोले अहिले नै निलम्बन गर्नु नपर्ने निष्कर्ष बैठकले निकालेको छ।

‘कुनै मुद्दामा व्यक्तिलाई पक्राउ गर्नेबित्तिकै ऊ दोषी हो भन्न मिल्दैन। त्यसलाई अभियुक्तका रूपमा लिइन्छ। अदालतबाट फैसला भइसकेपछि मात्रै दोषी ठहर हुने हो।

नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणबारे सरकारले निष्पक्ष छानबिन गर्नुपर्छ,बैठकपछि सहमहामन्त्री जीवन परियारले भने,दोषीलाई कुनै पनि हालतमा छोड्न हुँदैन। निर्दोष पर्न हुन्न।

कांग्रेस नेता खाणले अनुसन्धानलाई सहयोग गरिरहेको उनले बताए।

 हाम्रो पार्टीका नेता खाणले अनुसन्धानलाई सहयोग पुर्‍याउनुभएको छ,उनले भने कांग्रेस दोषीलाई उम्काउने पक्षमा छैन, सत्यतथ्य छानबिन होस्। अनुसन्धानलाई सहयोग गर्ने कुरामा पार्टी एकमत छ।

एमालेले टोपबहादुर रायमाझीलाई एमालेले सचिवबाट निलम्बन गरेको विषयसमेत छलफलमा आएको बताए।

‘दोषी ठहरिए के गर्ने भन्ने अदालतको निर्णयपछि नै केही निर्णय होला,उनले भने, अदालतमा विचाराधीन विषयमा कांग्रेसले आधिकारिक धारणा अहिले नै बनाएर जान हुन्न।

पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा कुनै पनि विवाद नरहेको उनले दाबी गरेका छन्। आजको बैठकमा नीति अधिवेशन, केन्द्रीय समिति बैठक, भ्रातृ तथा विभागलाई पूर्णतालगायत विषयमा पनि छलफल भएको थियो।