शरणार्थी प्रकरणमा दह्रो खुट्टा टेक्न कांग्रेसका युवा नेताहरूको प्रधानमन्त्रीलाई सुझाव

काठमाडौं। नेपाली कांग्रेसका तीन नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नक्कली शरणार्थी प्रकरणमा दह्रो खुट्टा टेक्न सुझाव दिएका छन्।

महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेले शुक्रबार प्रचण्डलाई भेटेका थिए।

प्रधानमन्त्री र कांग्रेसका तीन नेताहरुबीच नक्कली भुटानी शरणार्थी प्रकरण र कोशी सरकारका विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

कांग्रेसका तीन नेताले प्रधानमन्त्री प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन सुझाव दिएका थिए। कांग्रेस नेताहरुले दोषीलाई उन्मुक्ति नदिन सुझाव दिएका थिए।

साथै, उच्च ओहोदाका कुनै पनि व्यक्तिसँगको भेटघाटले यस प्रकरणलाई प्रभावित नहोस भनी प्रधानमन्त्रीको ध्‍यानाकर्षणसमेत गराएका थिए।

प्रधानमन्त्रीको छलफलमा कोशीमा गठबन्धनको सरकार विषयमा पनि छलफल भएको थियो।

कोशीमा केन्द्रको गठबन्धन अनुसारको सरकार बनाउने विषयमा समन्वय र छलफल गर्न कांग्रेस शीर्ष नेताले थापा,शर्मा र आङ्देम्बेलाई जिम्मेवारी दिएको छ। कोशीमा एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्र सहभागी छ।