शीर्ष नेताहरुको निर्णयमा सांसदहरु तगारो बन्दै ,शरणार्थी प्रकरणले सांसदहरुबीच घोचपेच र चर्काचर्की

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशनको अन्तिम दिन संसदीय समितिहरु चयन गरिएका थिए । समितिमा रहने सांसदहरु तय भए पनि समिति सभापति भने चयन हुन सकेको थिएन ।

हिउँदे अधिवेशन अन्त्य भई बजेट अधिवेशन चलिरहँदा मंगलबार एकै दिन पहिलो पटक १० वटा संसदीय समितिको बैठक बस्यो । तर समितिको छलफलमा भने नक्कली शरणार्थी प्रकरणलाई लिएर सांसदहरुबीच घोचपेच र चर्काचर्की नै भएको छ ।

संघीय संसदको दुवै सदनमा प्रि–बजेट छलफल सकिएपछि सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारीमा छ । आगामी जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बाध्यकारी ब्यवस्थाका कारण बजेटको तयारी पनि तीब्र छ ।

अर्थ मन्त्रालय तथा मातहतका निकायहरु बजेटमा केन्द्रित भइरहँदा मंगलबार एकै दिन अर्थसमितिसहित १० वटा संसदीय समितिको बैठक बस्यो ।

राज्य ब्यवस्था तथा सुशासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिदेखि सार्वजनिक लेखा समितिमा समेत नक्कली भुटानी शरणार्थी प्रकरणका विषयलाई लिएर सांसदहरु कस्सिए ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठूला पार्टीका शीर्ष नेताहरुको नियमित बैठक नक्कली शरणार्थी प्रकरणमा जोडिएका ठूला नेतालाई जोगाउन कस्सिएको आरोप मात्रै लगाएनन्, पानामाको उदाहरण दिँदै अमेरिकाले तीनै जना नेतालाई उठाएर लाने अभिब्यक्ति दिए ।

सुवालको अभिब्यक्ति रेकर्डबाटै हटाउनसमेत सत्तारुढ सांसदले माग गरेका थिए। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसकै महामन्त्री विश्वप्रकाश शर्माले नक्कली भूटानी शरणार्थी प्रकरणबारे सरकारले गरेको कामकारबाही र बस्तुस्थितिबारे सरकारसँग जवाफ माग गरे ।

जेष्ठ सदस्यको हैसियतमा सार्वजनिक लेखा समिति सभापति रहेका सांसद अर्जुनरसिंह केसीले समितिले गर्ने हरेक काम सार्वजनिक गर्न समिति सचिवलाई निर्देशन दिए।

उनले देशको अर्थतन्त्रमा देखिएका अनियमिता र भ्रष्टाचारबारे सबैको चासो रहेको उल्लेख गरे।

राज्य ब्यवस्था तथा सुशासन समितिमा उपस्थित भएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणको विषयमा सरकार कुनैपनि दबाबमा पछि नहट्ने प्रतिवद्धता जनाए।

गृहमन्त्री श्रेष्ठले यस प्रकरणमा नेपाल प्रहरीलाई कसैको पनि दबाबमा नपरीकन काम गर्न निर्देशन दिइएको बताए।

उनले नक्कली शरणार्थी प्रकरण मात्र नभई भ्रष्टाचारका अन्य प्रकरणहरुको पनि अनुसन्धान हुने प्रतिवद्धता जनाएका छन्।

पछिल्लो समय नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी लगायतका नेताहरुको पक्राउसँगै प्रमुख दलका शीर्ष नेताहरुको भेट बाक्लिएको छ।

जसका कारण आम नागरिक सशंकित भइरहँदा सत्तारुढ दलकै सांसदहरुले शीर्ष नेताहरु मिलेपछि जुनसुकै नीतिगत निर्णय हुने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।त्यसैले पनि आम नागरिकलाई सकारात्मक ऊर्जा प्रदान गरेको छ।