सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज ल्याउँदै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ।

शुक्रबार दिउँसो बस्ने संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ ।

भारतमा स्वास्थ्य उपचार गराएर फर्किएपछि शीतल निवासमै आराम गरिरहुन भएका राष्ट्रपति पौडेल आफैंले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि राष्ट्रपति पौडेलको कमजोर स्वास्थ्य अवस्थाका कारण नीति तथा कार्यक्रम कसले प्रस्तुत गर्ने भन्ने दुविधा थियो। तर, पछिल्ला दिनमा पौडेलको स्वास्थ्यमा सुधार आएकाले उहाँ आफैले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपतिको सम्बोधनपछि बस्ने प्रतिनिधिसभाको बैठकले राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।