आजको मौसम पूर्वानुमान: पहाडी भू-भागमा क्षणिक वर्षा सम्भावना

काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका ‍एकदुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

देशका तराईका भूभागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने महाशाखाले जनाएको छ।

जसका कारण सो भूभागहरूमा तातो हावा (लू) चलिरहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।