बालेनको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा, सार्वजनिक गर्ने तयारी हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन्।

भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू–भागसहित ‘अखण्ड भारत’ को नक्सा राख्दा नेपाल सरकार मौन बसेका बेला बालेनले त्यसलाई काउन्टर दिँदै ‘ग्रेटर नेपाल’को नक्सा राख्न लगाएका हुन्।

महानगर स्रोतकाअनुसार उक्त नक्सा तीन दिन अघि नै आफ्नो कार्यकक्षमा राख्न लगाएर उनी पत्नीको उपचारका लागि भारत गाएका छन्।

उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएका थिए। भारतबाट फर्किएलगत्तै नयाँ नक्साको पृष्ठभूमिमा तस्वीर खिचाएर सार्वजनिक गर्ने उनको योजना छ।

भातरले नयाँ संसद भवनभित्र ‘अखण्ड भारत’ को नक्सा राखिएको सार्वजनिक भएसँगै नेपालमा तीव्र विरोध भइरहेको छ।

यो नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेत समावेश भएका कारण नेपालमा आलोचना भएको हो । नेपाल सरकारले भने यस विषयमा भारतसमक्ष कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन ।

कुनै समय नेपालको भूभाग पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म फैलिएको थियो । तर, अंग्रेजसँगको युद्धपछि नेपालले आफ्नो ठूलो हिस्सा जमिन गुमाउन पुग्यो।

सन् १८१६ को मार्च ४ मा नेपाल र इष्ट इन्डिया कम्पनीबीच सुगौली सन्धी भएको थियो, जसले नेपालको भूभाग मेची९महाकालीमा खुम्च्याइदिएको छ।

भारतबाट अंग्रेज फिर्ता भएपछि नेपालले पनि आफ्नो गुमेको भूमी स्वतः फिर्ता पाउनुपर्ने थियो। तर, तत्कालीन समयमा नेपालले बलियो पहल गर्न नसक्दा मेचीदेखि टिस्टा र महाकालीदेखि सतलजसम्मका भूभाग भारतमै स्थायीरूपमा गाभिन गाभिएको छ।

भारतले ती जमिन नेपाललाई फिर्ता गर्नुपर्ने आवाज अहिले पनि उठ्ने गरेको छ।