आन्दोलनकारीको निशानामा एमाले,मुकाबिला गर्ने ओलीको चेतावनी

फाइल तस्वीर

काठमाडौं। प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनरत पक्षले बिहीबार उदयपुरमा उपसभामुख सिर्जना दनुवारमाथि आक्रमणको प्रयास गरेको छ।

इलामको सोयाकमा नेकपा एमालेका प्रदेशसभा संसदीय दलका उपनेता राम रानाको गाडी रोकेर मोबिल पोखिदिएका छन् भने गाडीमाथि ढुंगामुढा गरेका छन्।

त्यसको प्रतिक्रियामा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब तयारीका साथ मुकाबिला गर्नुपर्छ भन्दै भाषण गरे ।

आन्दोलनरत पक्षले आफ्नो प्रतिवद्धता विपरीत नेताहरुमाथि दुव्र्यवहार गर्ने र एमाले नेतृत्वले प्रतिवादमा उत्रिन निर्देशन दिँदा परिस्थिति हिंसातिर धकेलिन सक्ने भय बढेको छ।

मुकाबिला गर्ने ओलीको चेतावनी

बुधबार इलाममा भएको घटनालाई ओलीले आफ्ना नेताको आगो लगाएर हत्या गर्ने प्रयास भनेका छन् । एमाले प्रदेशसभा सदस्य रानाका अनुसार इलामबाट झापा फर्कने क्रममा इलाम नगरपालिका–११ सोयाकमा प्रदर्शनकारीहरुले मुढा राखेर बाटो छेकेका थिए । उनको गाडीमा मोबिल पोखेका थिए ।

त्यसको केहीबेरमा ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा ओलीले हत्या प्रयास भएको उत्तेजक अभिव्यक्ति दिए।

सत्ताको संरक्षणमा आपराधिक घटना भइरहेको निष्कर्ष सुनाउँदै ओलीले भने,आज मात्र प्रदेशसभा सदस्य राम रानालाई मोबिल छर्किएर आलो लगाउन खोजे। पहिचानको नाममा हत्या प्रयास भइरहेको छ।

‘किरात प्रदेश राख्न खोजेको किन रहेछ भन्ने देखिँदैछ नि। नराख्दा यस्तो छ, राख्ने हो भने के हुन्थ्यो? गैरकिरात भनेको त त्यहाँ बस्न पनि नपाउने रहेछ’,यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै संलग्न रहेको दाबी ओलीले गरे।

सुरुमा कोशी नाम राख्न मत दिएको माओवादीले अहिले पुनर्विचार गर्नुपर्छ भनेर भड्काएको उनको आरोप छ । सरकारले नै ‘गुण्डाहरु’लाई प्रोत्साहित गरिरहेको भन्दै उनले भने,अब एमालेले तयारीका साथ दनक दिनुपर्ने अवस्था भयो।