प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरीको चाङ, १० दिनमा परे २९ उजुरी

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् । संवैधानिक परिषदबाट २५ वैशाखमा प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिले १७ जेठमा सार्वजनिक सूचनामार्फत १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार शुक्रबारसम्मको समयसीमाभित्र कार्कीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गर्न २९ वटा उजुरी प्राप्त भएका छन्।

पाँचवटा उजुरी इमेलबाट प्राप्त भएको र बाँकी लिखित आएको उनले बताए । कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले नै सुनुवाइ समिति सचिवालयमा उजुरी दर्ता गराएका छन् ।

यसबाहेक अधिवक्ताहरू यादव कोइराला, अमृत खरेल, ध्रुवबहादुर श्रेष्ठ तथा अभियन्ता रतन भण्डारीलगायतले कार्की प्रधानन्यायाधीश पदका लागि कुनै हालतमा योग्य नभएको जिकिर गर्दै उजुरी दिएका छन्। ‘परेका उजुरी समितिको आन्तरिक कार्यविधिअनुसार आगामी बैठकमा खोलेर छानबिन अगाडि बढ्छ,’ प्रवक्ता गिरीले भने ।

१ फागुन ०७८ मा महाभियोग दर्ता भएलगत्तै निलम्बनमा परेका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले २७ मंसिरमा अवकाश पाएका थिए ।

जबरा निलम्बन परेलगत्तै कामु प्रधानन्यायाधीश बनेका दीपक कार्कीले पनि १५ असोजमा अवकाश लिए । त्यसपछि हरिकृष्ण कार्कीले कामुको जिम्मेवारी पाएका थिए ।

सुनुवाइ समितिको बैठक सम्भव भएसम्म आइतबार नभए सोमबार बस्ने तयारी छ । समितिले उजुरीमाथि आवश्यक छानबिन तथा उजुरीकर्तासँग छलफल गरेर सुनुवाइ अगाडि बढाउनेछ।

सुनुवाइबाट अनुमोदन भए कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन्। यद्यपि, ६५ वर्षे उमेरहदका कारण १९ साउनसम्म मात्रै उनको सेवावधि हुनेछ। नयाँपत्रिका दैनिकबाट