लागूऔषध ओसारपसारमा संलग्नलाई गोली प्रहार गरी प्रहरीले लियो नियन्त्रणमा

काठमाडौं । लागूऔषध ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौं महानगरपालिका–९ बाट हेमन्तकुमार भगतलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो।

प्रहरीले लागूऔषध कारोबार गरेको गोप्य सूचनाका आधारमा भगतलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीमाथि आक्रमण गर्न खोजेपछि घुँडामुनि गोली हानेर नियन्त्रणमा लिइएको ब्यूरोका प्रवक्ता,प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए।

प्रहरीले हानेको गोली लागेर घाइते भएका भगतलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज पठाइएको छ। प्रहरीले भगतसँग एक सय ग्राम खैरो हिरोइन समेत बरामद गरेको प्रवक्ता जोशीले बताए।