भुटानी शरणार्थी प्रकरण: आज पनि थुनछेक बहस हुने

फाइल तस्वीर

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी छ। सोमबारको अदालती समय सकिँदा ६ जना प्रतिवादीका कानुन व्यवसायीको बहस बाँकी थियो।

सोमबार गृहमन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेसहित ४ जना प्रतिवादीको पक्षमा बहस भएको थियो। पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित ६ जनाको बहस बाँकी रहेको थियो।

खाणसहित पूर्व सांसद आङटावा शेर्पा, हज समितिका अध्यक्ष शमशेर मियाँ, ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जन तथा शरणार्थी नेता टेकनाथ रिजालसहितको प्रतिरक्षा बहस बाँकी छ।

मंगलबार खाणको पक्षमा बहसका लागि कानुन व्यवसायीहरुले वकालतनामा दिइसकेका छन्। खाणको पक्षमा बसहका लागि नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका कानुन व्यवसायीले तयारी गरेका छन्।

सो थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहने र सो पछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने छ।