भुटानी शरणार्थी प्रकरण:आरोपितको पक्षमा बहस गर्ने अधिवक्ताहरूविरुद्ध नाराबाजी

फाइल तस्वीर

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको पक्षमा प्रतिरक्षा बहस गर्ने अधिवक्ताहरूविरुद्ध बुधबार नाराबाजी भएको छ।

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले प्रतिवादीको पक्षमा बहस गर्ने वकिलहरूविरुद्ध नाराबाजी गरेको हो।

सो प्रकरणका आरोपितहरूको प्रतिरक्षा बहस चलिरहेको बेला जिल्ला अदालत, काठमाडौं परिसरमा उनीहरूले नाराबाजी गरेका हुन्।

सो प्रकरणमा एमालेका नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खा“णसहित १८ जना पक्राउ परेका छन्। १३ प्रतिवादीको पक्षमा हालसम्म दर्जनौं वकिलहरूले बहस सकिसकेका छन्। नेता खाणको पक्षमा मात्रै १५ जनाले बहस गरेका थिए।

अब इजलासमा आङ्टावा शेर्पा, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, टेकनाथ रिजाल र शमशेर मियातर्फका वकिलको बहस हुन बा“की छ।