भोलीदेखि भारतीय चलचित्र ‘आदिपुरुष’ प्रदर्शनमा मेयर बालेनले लगाए रोक

फाइल तस्वीर

काठमाडौं । काठमाडौं‌ महानगरपालिकाभित्रका हलहरुमा भोलिदेखि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाइने भएको छ।

हालै प्रदर्शनमा आएको भारतीय चलचित्र ‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने डायलग भारतमा नहटाइएपछि महानगरले महानगरभित्रका हलहरूमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको हो।

काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले शुक्रबार सूचना तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कुटनीतिक तहबाट उक्त समस्या हल गर्न अनुरोध गरेका थिए । तर, तीन दिन बितिसक्दा पनि उक्त डायलड नहटाइएपछि मेयर बालेलन एक्सनमा उत्रिन बाध्य भएका हुन् ।

मेयर बालेनले उक्त विवादित डायलड नेपालमा मात्र नभई भारतमा समेत तीन दिनभित्र हटाउनु पर्ने चेतावनी उक्त पत्रमार्फत दिएका थिए । तर, हालसम्म पनि उक्त विवादित संवाद नहटाइएपछि आइतबार बेलुकीसम्म हलहरुमा पुगेर महानगर प्रहरीले सोमबारदेखि भारतीय चलचित्र प्रदर्शन नगर्न निर्देशन दिने भएको छ ।

मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत् भोलिदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइएको जानकारी दिएका छन् । उनले फेसबुकमा चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन नगरिने बताएका छन् ।

उनले लेखेका छन्

भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले ३ दिन पहिले हटाउन आवहान गरेको थियौ।
नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन।
नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ। उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ। उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ।

https://www.facebook.com/balenOfficial