ओखलढुंगामा पहिरोले २५ घर बगाउँदा,एकै परिवारका ४ जनाको मृत्यु

सांकेतिक तस्वीर

काठमाडौं। ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ८ गुरुङ बस्तीमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने २५ वटा भन्दा बढी घर बगाएको छ।

बिहीबार राती ११ बजे गएको पहिरोमा परी २० भन्दा बढी चौपायासमेत बगाएको वडा नम्बर ८ का अध्यक्ष खड्गबहादुर राउतले जानकारी दिए।

सङ्घीय सांसद रामहरि खतिवडाले माथिबाट आएको पहिरोले गर्दा चार जनाको निधन हुनुका साथै चौपाया र घर जग्गामा बढी क्षति पुर्‍याएको बताए, स्थानीय स्तरमा उद्धारको प्रयास जारी रहेकोसमेत उनको भनाइ रहेको छ।

पहिरोमा परी मृत्यु हुनेमा एकै परिवारका चार जना रहेको अध्यक्ष राउतले जानकारी दिए। मृतक मध्ये ३८ वर्षीय बुवा रणबहादुर गुरुङ, २९ वर्षीया आमा शिवमाया गुरुङ र १८ महिनाको छोरी कविता गुरुङको शव निकालिएको छ भने १० वर्षीय छोरा दिनेश गुरुङको शव निकाल्ने प्रयास भई रहेको छ।

बिहीबार रातीबाटै नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीयहरू शव निकाल्न र उद्धारमा खटिएको अध्यक्ष राउतले बताए। थप २५ वटा बढी घरमा र गोठहरूमा क्षति पुगे पनि क्षतिको यकिन गर्न बाँकी रहेको उनको भनाई छ।