कैलाली कारागारमा प्रहरीमाथि कैदीबन्दीले आक्रमण गर्दा असईको टाउको फुट्यो

काठमाडौं। कैलाली कारागारमा अनुगमन गर्न गएका प्रहरीमाथि कैदीबन्दीले आक्रमण गरेर टाउको फुटाइदिएका छन्। शुक्रबार दिउँसो कारागारमा अनुगमनका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीमाथि कैदीबन्दीहरुले आक्रमण गर्दै टाउको फुटाएका हुन्।

कैदीबन्दीको आक्रमणबाट जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक ९असई० भूपेन्द्र सामन्त घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको कारागार स्रोतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले अनुगमन सकेर निस्किने क्रममा समान्य धकेलाधकेल भएको र सोही क्रममा प्रहरी सहायक निरीक्षक सामन्तमाथि चोट लागेको जानकारी दिए।

प्रहरी निरीक्षक साउँदकाअनुसार अनुगमनका क्रममा कैदीबन्दीले कारागारभित्र प्रयोग गर्दै आएका विभिन्न कम्पनीका १५ थान मोबाइल, ३३ थान चार्जर र एक लाख चार हजार भारतीय रुपैयाँ बरामद गरिएको छ।

कैलाली कारागारमा मदिरा र लागुऔषधको खुलेआम कारोबार तथा सेवन हुने गरेको गुनासो छ। केही समयअघि मदिरा सेवन गरेर कैदीबन्दी र कारागारका कर्मचारीबीच झडप भएको कुरा बाहिरिएपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा प्रशासनको जिम्मेवारी हेरफेर गरेको थियो।