सामाजिक सुरक्षा कोषद्वारा झण्डै पाँच अर्ब भुक्तानी

काठमाडौं। सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई चार अर्ब ७९ करोड भुक्तानी गरेको छ।

कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ।

हालसम्म कोषबाट ८४ हजार ६७३ योगदानकर्ताले विभिन्न योजनाबापत सुविधा लिएका छन्। यस्तै, कोषमा हालसम्म ३५ अर्ब १० करोड रुपैयाँ योगदान रकम सङ्कलन भइसकेको छ। कोषमा औपचारिक क्षेत्र र वैदेशिक क्षेत्रका श्रमिक आबद्ध हुँदै आएका छन्।

अनौपचारिक र स्वरोजगार श्रमिकलाई पनि सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने क्रम अन्तिम चरणमा रहेको जनाइएको छ। पछिल्लो समय कोषमा १७ हजार ९६४ रोजगारदाता र पाँच लाख ९२ हजार ९२४ श्रमिक सूचीकृत भएका छन्।