एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोर्ड बैठक आज बस्दै

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।

गएको चैतमा भएको एसईई परीक्षाको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने गरी अन्तिम तयारी भएको हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने कामसमेत सकिएको र रुजु गर्ने काम भइरहेको छ।

नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि आज बोर्ड बैठक बोलाइएको छ। सकेसम्म भोलि नै र प्राविधिक कारण तयारी नसके पर्सि शुक्रवारसम्म नतिजा सार्वजनिक गरिनेछ।

चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको यसवर्षको एसईईमा देशभरबाट झण्डै ४ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए । परीक्षाफल विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन हुनेछ।