बहालवाला सचिव पक्राउपछि कर्मचारीमा तरंग

काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललितानिवास जग्गा प्रकरणमा किर्ते र जालसाझीपूर्ण कार्य गरेको भन्दै सरकारका बहालवाला सचिवलाई पक्राउ गरेपछि कर्मचारी क्षेत्रमा तरंग सिर्जना भएको छ।

ललितानिवासको जग्गा व्यक्ति र गुठीको नाममा बनाउनुअघि टिप्पणी उठाउने तत्कालीन शाखा अधिकृत र हालका बहालवाला सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेकोमा कर्मचारी वृत्तमा असन्तुष्टि सिर्जना भएको छ।

सीआईबीले सञ्चार सचिव राउतलाई बिरामी बुबालाई भेट्न आइतबार विराटनगर जाने क्रममा काठमाडौंस्थित एयरपोर्टबाट पक्राउ गरेको थियो।

सीआईबीले सोही प्रकरणमा अन्य ५ पूर्वसचिव र १७ सहसचिवलगायतका दर्जनौं कर्मचारीमाथि पक्राउ पुर्जी जारी गरिरहँदा सो कार्यमा संलग्न उच्च राजनीतिक नेतृत्वमाथि सीआईबीले केही गर्न नसकेको भन्दै कर्मचारीवृत्तमा असन्तुष्टि पैदा भएको छ।

सोमबार केही बहालवाला र पूर्व कर्मचारीले सामाजिक सञ्जालमार्फत अन्तिम निर्णय गर्ने राजनीतिक नेतृत्वलाई बचाएर टिप्पणी मात्रै उठाउने कर्मचारीलाई पक्राउ गर्नु गलत भएको भन्दै विरोध गरेका छन्। नेपाल समाचारपत्र दैनिकबाट