बञ्चरेडाँडामा फोहोर विसर्जनमा अवरोध नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध नगर्न सरोकारवालाहरुलाई आदेश दिएको छ।

साथै काठमाडौंबाट फोहोर लिएर जाने गाडीहरुबाट शुल्क पनि नअसुल्न सर्वोच्चले आदेश दिएको छ। सर्वोच्चले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने गाडीहरुबाट शुल्क उठाउने र नदिए अवरोध गर्ने नुवाकोटको ककनी गाउँपालिकाको निर्णयविरुद्ध आदेश दिएको हो।

ककनीको निर्णयविरुद्ध फोहोरमैला व्यवस्थापन संघले दिएको रिटमा सोमबार न्यायाधीश ईश्वर खतिवडाको इजलासले यस्तो आदेश दिएको हो । ककनी गाउँपालिकाको १२औं सभाले काठमाडौंबाट फोहोर लिएर जाने साना टिपरसँग एक हजार र ठूला टिपरसँग प्रतिगाडी एक हजार पाँच सय रूपैयाँ शुल्क उठाउने निर्णय गरेको थियो।

उक्त निर्णयविरुद्ध फोहोर मैला ब्यवस्थापन संघले ककनी गाउँपालिका, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संघीय मामिला, वन तथा वातावरण र सहरी विकास मन्त्रालयलाई विपक्षी बनाइ गत आइतबार रिट दर्ता गरेको थियो।

यस्तै, सर्वोच्चले फोहोर विसर्जनमा समन्यव गर्न र कुनै पनि अवरोध हुने वातावरण नराख्न सरोकारवाला मन्त्रालयहरुलाई आदेश दिएको छ।