कांग्रेस केन्द्रीय समिति बैठक बस्दै,यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ। विधानअनुसार प्रत्येक दुई महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने उल्लेख भए पनि एक वर्षपछि आज बैठक बस्न लागेको हो।

बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकले समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय छ।

यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयमा पाि छलफल हुनेछ। यस्तै बैठकले नीति महाधिवेशनको मिति तोक्ने सम्भावना छ।

कांग्रेस महानमन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको कार्यशैलीमाथि निरन्तर प्रश्न उठाउँदै आएका छन्। तर, आजको बैठकमा संस्थापन पक्षले महामन्त्रीद्वय थापा र शर्मालाई नै प्रश्न उठाउने तयारी गरेको छ।

बैठकमा सभापति देउवाले केन्द्रीय समिति बैठकको पार्टीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गरेका थिए।

यी हुन् बैठकका एजेन्डा 

– समसामयिक विषय ।

– सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव ।

– कार्यसम्पादन समिति बैठकबाट यसअघि भएका निर्णयहरू अनुमोदन ।

– पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत ।

– नीति अधिवेशन सम्बन्धी प्रस्ताव ।

– विभाग गठनसम्बन्धी प्रस्ताव ।

– एउटा अभियान घोषणासम्बन्धी प्रस्ताव ।

– अनुशासन समितिको प्रतिवेदनसम्बन्धी प्रस्ताव ।

– प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिकाबारे संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी गराउने ।

– सरकारमा पार्टीको भूमिकाबारे उपसभापति पूर्णबहादुर खड्काले जानकारी गराउने।