कांग्रेसमा २२ विभाग थपेर ७० वटा बनाउन प्रस्ताव

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले थप २२ वटा विभाग थप्न प्रस्ताव गरेका छन्। हाल ४८ वटा विभाग रहेको कांग्रेसमा थप २२ वटा थपेर ७० वटा विभाग बनाउन प्रस्ताव गरिएको छ।

उनले भने, ‘भदौ १५ भित्र सबै विभाग गठन गरेर पूर्णता दिइसक्ने प्रस्ताव छ। थापाका अनुसार विभागहरूले आफ्नो कार्ययोजनासहित एक वर्षको कार्यतालिका बनाएर भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेश गर्नुपर्ने छ।

साथै हरेक ६/६ महिनामा केन्द्रीय कार्यसमितिमा प्रगति विवरण बुझाउनुपर्नेछ भने केन्द्रीय कार्यसम्पादन समितिले समीक्षा गर्ने छ।

महामन्त्री थापाले भदौ १५ गतेभित्र सबै विभागको गठन गरिसक्ने र पूर्णता दिइसक्ने कार्ययोजना पनि पेस गर्नुभएको छ । त्यस्तै, समितिहरूले पनि भदौ १५ गतेसम्ममा पूर्णता पाउने प्रस्ताव छ।

पार्टीका सबै दस्तावेजहरू डिजिटलाइज गर्ने र डिजिटल अभिलेख राख्ने पनि थापाको प्रस्ताव छ । यसका निम्ति काम भइरहेको उहाँले बताउनुभयो।

यस्तै, बैठकमा उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएबापत आफ्नो पार्टीले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गर्नुभयो।

कांग्रेसले राष्ट्रपति पाउने सर्तमा प्रधानमन्त्री प्रचण्डलाई पुस २६ गते विश्वासको मत दिइएको उहाँको भनाई छ। उपसभापति खड्काले पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलमा प्रचण्डले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने प्रतिवद्धता व्यक्त गरेसँगै विश्वासको मत दिइएको उहाँले स्पष्ट पार्नुभयो।

बैठकमा काँग्रेसको रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदे प्रतिवेदन बुझाएको छ। केन्द्रिय कार्यसमिति बैठकअघि अभियानले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत प्रतिवेदन पार्टीलाई बुझाएको हो।

प्रतिवेदन बुझाइसकेपछि बोल्दै कांग्रेस नेता गुरु घिमिरेले पार्टीलाई यथास्थितिबाट मुक्त गर्न नसकिने बताउनुभयो। उहाँले यथास्थितिले आगामी दिनमा आउनसक्ने चुनौतिको सामना गर्न कांग्रेसले नसक्ने तर्क गर्नुभयो।कांग्रेस रुपान्तरण अभियानले गत जेठ ११ देखि ३१ गतेसम्म सातै प्रदेशमा भेला गरेका थिए।