मुगुमा दुई सातादेखि विद्युत सेवा अवरूद्ध,नागरिक अन्धकारमै बस्न बाध्य

सांकेतिक तस्वीर

काठमाडौं। मुगुमा करिब दुई सातादेखि विद्युत सेवा अवरुद्ध हुदाँ यहाँका नागरिक अन्धकारमै बस्न बाध्य भएका छन्।

विद्युत सेवा प्रभावित हुँदा मुगुका नागरिकको दैनिकी कष्टकर बनेको छ भने सरकारी तथा अन्य महत्वपूर्ण काम पनि हुन पाएका छैनन्।

मुगु सदरमुकाम गमगढीलगायत आसपासका गाउँबस्तीमा रहेका ३ हजरभन्दा बढी घरधुरी अन्धकारमा छन्। हरेक वर्ष वर्षातको समयमा गमगढी विद्युत वितरण केन्द्रको मुहान पावर हाउसमा पटकपटक समस्या आउने र विद्युत सेवा अवरुद्ध हुने गरेको छ।

समस्या समधानको लागि काम त गरिन्छ तर त्यो प्रभावकारी हुँदैन। दिर्घकालीन विकास नहुँदा विद्युत सेवाबाट नागरिकले सास्ती खेप्नुपरेको छायाँनाथ रारा नगरपालिका ६ का स्थानीय धन बहादुर भामले बताए।

२०६८ सालमा स्थापाना भएको गमगढी विधुत आयोजनामा पटकपटक समस्या आउने गरेको छ। जसका कारण मुगुका ३ हजार १ सय ग्राहक घरधुरी प्रत्यक्ष मारमा परेका छन्।

विद्युत नहुँदाँ सरकारी कामकाज र वित्तीय क्षेत्रको सेवमा पनि बाधा पुगेको छ। विशेषगरी सामाजिक सुरक्षालगायत सबै काममा समस्या आएको सिटिजन बैंक शाखा मुगुका प्रमुख हेम बहादुर हमालले बताए।

विद्युत गृहको मुहानमा बालुवा र लेदो आउने गरेकाले नहर बन्द भई विद्युत उत्पादन बन्द भएको हो। पटकपटक बालुवा हटाउन प्रयास गरे पनि सम्भव नभएको र गत वर्षको बाढीका कारण खोलाले धार परिर्वतन गरेपछि बर्षातको समयमा भल आउने र लेदो तथा बालुवाले नहर जाम हुने गरेको छ। यसै कारण विद्युत उत्पादनमा समस्या भएको गमगाढ साना जलविद्युत आयोजनाका प्राविधिक छिरिङ लामाले बताए।