सुन तस्करी प्रकरण: यी ३ जना कर्मचारी निलम्बित

फाइल तस्बिर

काठमाडौं। सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारीलाई निलम्बन गरिएको छ।

हङकङबाट क्याथे एयरवेजको जहाजबाट आएको ब्रेकशुमा लुकाएर ल्याएको ठूलो परिमाणको अन्दाजी ८० देखि १०० किलो सुन भन्सार जाँच पास भएर निस्किएको देखिएपछि तीन जनालाई निलम्बन गरिएको हो।

भन्सार अधिकृत सन्तोष चन्द, खरिददार कुमार ढकाल र सरोज श्रेष्ठलाई निलम्बन गरिएको भन्सार विभागले जनाएको छ। जाँचपासमा उनीहरुको कमजोरी देखिएपछि निलम्बन गरिएको बताइएको छ।

उनीहरूसँग पनि राजश्व अनुसन्धान विभागले सोधपुछ गरी थप कारबाही गर्नसक्ने बताइएको छ । यसरी कमजोरी गर्ने अन्य कर्मचारीहरूलाई पनि कारबाही गर्ने तयारी विभागको छ।

भन्सारबाट छुटेर भाग्न लाग्दा राजश्व अनुसन्धान विभागले पाएको सुराकको आधारमा खटिएको टोलीले मंगलबार अन्दाजी ८० देखि १०० किलो सुन बरामद गरेको थियो।यस प्रकरणमा विभागले एक चिनियाँ र एक भारतीय नागरिकसहित १० जनालाई पक्राउ गरिसकेको छ।