झापा जिल्लाको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

  – रोहित ढकाल

झापाः क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको १ नं. प्रदेश अन्तर्गतको झापा जिल्लाको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न भएको छ।अधिवेशन तथा प्रशिक्षण शुक्रबार झापा जिल्लाको सुरुङ्गामा सम्पन्न भएको हो।

अधिवेशनले प्रशान्तको संयोजकत्वमा ४९ सदस्यीय झापा जिल्ला संगठन समिति चयन गरेको छ। अधिवेशनका प्रमुख अथिति पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा १ नं. प्रदेशका इन्चार्ज निर्मलले पार्टी केन्द्रको भाव संप्रेषण गर्दै प्रशिक्षणमूलक मन्तव्य राख्नुभयो।

वहाँले क्रान्तिको कार्यभार पुरा गर्न क्रान्तिकारी पार्टी र जनसमुदायको बलियो एकता कायम हुनुपर्ने साथै अबको क्रान्तिको नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्ने बताउनु भयो।

कार्यक्रमका अथिति पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश संयोजक सङ्कुलले संसदवादमा पतन भएका केही कम्युनिस्ट नामधारीहरुले देश र जनतालाई भ्रममा पारी धोका दिएको र इतिहासप्रति गद्दारी गरेर कम्युनिस्ट आन्दोलनलाई नै भ्रष्टीकरण गरिरहेको बताउनुभयो।

वहाँले त्यस्ता बेइमान तथा गद्दार कम्युनिस्ट नामधारीहरुको सशक्त भण्डाफोर गर्दै तिनका सबैखाले कर्तुतहरुको चिरफार नगरी र जनतालाई नबुझाइकन परिस्थिति बदल्न नसकिने पनि बताउनु भयो।

कार्यक्रमका अथिति केन्द्रीय सचिवालय सदस्य तथा पार्टीका १ नं. प्रदेश सह–संयोजक नरेश, झापा जिल्ला संगठन समितिका इन्चार्ज विमल, केन्द्रीय सदस्य तथा १ नं. प्रदेश कार्यालय सचिव मन्तव्य राख्नुभएको थियाे।