कोरियाले दियो नेपालीले रोजगारीको अवसर गुमाउने चेतावनी

काठमाडौं। रोजगार अनुमति प्रणाली (ईपीएस)को भाषा परीक्षा रोकिए नेपालीले रोजगारीको अवसर गुमाउन सक्ने चेतावनी दक्षिण कोरियाले दिएको छ।

कोरियाबाट फर्किएका ‘रिटनी’ हरू ले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा रोक्ने चेतावनी दिएपछि कोरिया सरकारले रोजगारीको अवसर गुमाउने चेतावनी दिएको हो।

ईपीएस सेन्टर नेपालका प्रमुख किमउन दकले एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्। उनले रोजगार अनुमति प्रणाली १६ वटै मुलुकका लागि समान र पारदर्शी रूपमा लागू भइरहेको र नेपालका लागि विशेष व्यवस्था हुन नसक्ने स्पष्ट पारे।

रिटर्नीहरूको विरोधका कारण परीक्षा र कोरिया प्रवेशमा असर परे परीक्षा तयारी गर्दै गरेका धेरै युवाले अवसर गुमाउने उनको भनाई छ।

कोरियाली रोजगारदाताले पारिश्रमिक दिने भएकाले विदेशी श्रमिक छनोटमा उनीहरूकै राय सबैभन्दा महत्त्वपूर्ण हुने उनको भनाई छ।

सन् २०२२ मा १४ हजार ४९५ जना नेपाली कोरिया प्रवेश गरेका थिए। जुन ईपीएस प्रणाली लागू भएका १६ राष्ट्रमध्ये कोरिया प्रवेश गर्ने सबैभन्दा बढी नेपाली श्रमिक हुन्।