सशस्त्र प्रहरीमा एकैपटक ६ हजार ६ सयबढी कर्मचारी बढुवा हुँदै

काठमाडौं। संगठनभित्र आन्तरिक शुद्धीकरणपछि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बढुवामा देखिएको समस्या हल गर्न केही हदसम्म सफल भएका छन्। एक वर्ष लामो प्रयासपछि सशस्त्रमा एक सय ७५ कर्मचारीको दरबन्दी थप भएको छ।

यसले केही हदसम्म सशस्त्रमा देखिएको बढुवा जामको समस्या समाधान हुने भएको छ। यसले सशस्त्र प्रहरीका कर्मचारीमा उत्साह थपिएको छ। सशस्त्र प्रहरी स्रोतका अनुसार एकैपटक ६ हजार ६ सय ४६ कर्मचारीको बढुवा हुने भएको छ।

दरबन्दी थप भएसँगै सशस्त्र प्रहरीमा बढुवाको प्रक्रिया सुरु भइसकेको छ। एसएसपी तहसम्मको बढुवाका लागि गत साता नै सूचना प्रकाशन भइसकेको छ। जसअनुसार बढुवाको दौडधुप सुरु भइसकेको छ।

सशस्त्रमा एसएसपीमा १४, एसपीमा ५८ तथा ९६ जना डिएसपीमा बढुवा हुँदैछन्। त्यस्तै, ६२ जना इन्सपेक्टरमा, ६० जना बरिष्ठ सइ, एक सय ३१ ज्ना सई, ३३ जना असइ, ६६ जना बरिष्ठ हवल्दार, एक हजार नौ सय ९२ हवल्दार र तीन हजार नौ सय ३४ जना सहायक हवल्दारमा बढुवा हुनेछन्।

एसएसपी बढुवामा गंगाराम श्रेष्ठ, राजेश उप्रेती, विकास घिमिरे, भरत खनियाँ, धुव्र कार्की, जनक पुरी, रमेश पाण्डे, नेत्र कार्की, तिर्थ पौडेल लगायत एसपी छन्।

उनीहरुमध्ये गंगाराम सर्लाहीमा जुवा खेलेका कारण कारबाहीमा परेका अधिकृत हुन्। राजेश उप्रेती रुपन्देहीमा हुँदा अत्याधिक बल प्रया्ेगका कारण विवादमा तानिएका थिए।

त्यस्तै, सिसं नम्बर ३ का सबै एसपीमा बढुवा हुनेछन् भने सिसं नम्बर ७/८ का डिएसपीमा बढुवा हुने भएका छन्। यो बढुवासँगै १६ वर्षसम्म एउटै पदमा रहनुपर्ने बाध्यता अब क्रमशः घट्दै जाने भएको छ।