प्रहरी संगठन भित्र: काण्डैकाण्डमा प्रहरी अधिकारी

काठमाडौं। नेपाल प्रहरीका अधिकारी पटक पटक महिला काण्डमा पर्दै आएका छन्। पछिल्लो पटक जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्सपेक्टर सुवास तिमल्सिना यस्तो काण्डमा मुछिएका छन्।

एक युवतीसँग अश्लील च्याट गरेको विषय बाहिर आएपछि उनीमाथि कारबाही सिफारिस भएको छ। ती युवतीले नै इन्सपेक्टर तिमिल्सिनाले आफुलाई यसरी सामाजिक सञ्जालबाट हिंसा गरेको भन्दै उजुरी गरेकी थिइन्।

इन्सपेक्टर तिमिल्सिनाका धेरै प्रेमिका रहेको र त्यही विषयमा झगडा भएर सो घटना बाहिर आएको समेत बताइएको छ। तर, यो घटनाले प्रहरीलाई विवादमा पारेको छ।

त्यसअघि अर्को गम्भीर घटनामा एसएसपी योगबहादुर पाल मुछिएका थिए । कञ्चनपुरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत रहेका बेला आफ्नै कार्यालकी महिला हवल्दारलाई उनले ‘गुड फ्राइडे’ मनाउने प्रस्ताव गरेका थिए । ती महिला हवल्दारले उजुरी गरेपछि छानबिन हुँदा उनी दोषी देखिए।

छानबिनको क्रममा सो कार्यालयका अन्य महिला प्रहरीमाथि समेत उनले यौन हिंसा गर्दै आएको खुलेको छ। सो घटनामा उनलाई निलम्बन गरिएको छ। एसएसपी पाल विगतमा पनि यस्ता गम्भीर किसिमका महिला काण्डमा फस्दै आएका अधिकृत हुन्। तर, राजनीतिक पहुँचका कारण जोगिदै आएका थिए।

यो घटनामा पनि उनीमाथि विभागीय कारबाही मात्र भएको छ। उनीामथि फौजदारी कारबाहीको प्रक्रिया अघि बढेको छैन।
विगतमा अरु धेरै प्रहरी अधिकारी यस्तो काण्डमा परेका छन्। बलात्कार आरोप लागेपछि तीन वर्षअघि डिएसपी राजकुमार खिउजुले राजीनामा दिएका थिए। पछि उनी पक्राउ परे। युवतीलाई प्रभावमा पारी बयान फेर्न लगाएर पछि अदालतबाट सफाई पाएका थिए।

सेवाग्राहीका रुपमा प्रहरी वृत्त चापागाउँ पुगेकी युवतीलाई सहयोगको बहानामा उनले यौन शोषण गरेको पीडितको भनाइ थियो। पदमै हुँदा पूर्वडिआइजी सौरभ राणालाई पनि बलात्कार मुद्दा परेको थियो।

उनको इटहरीकी एक महिलासँग हिमचिम थियो। विवाद भएपछि ती महिलाले बलात्कारको जाहेरी दिएकी थिइन्। घटना भएको भनिएको बेला एसएसपी राणा काठमाडौंमा भएको पुष्टि भएपछि मुद्दा नचलाउने निर्णय गरिएको थियो।

त्यस्तै, एआइजी हुँदा कल्याण तिमल्सिनामाथि समेत गम्भीर आरोप लाग्यो। आफुलाई यौन शोषण गरेको भन्दै एक महिला हवल्दारले प्रधानमन्त्री कार्यालयमा उजुरी दिएकी थिइन् । जसमा उनले १७ लाख रुपैयाँ दिएर गोप्य रुपमा घटना मिलाएका थिए।

नेपाल प्रहरीभित्र विगतमा अनेक यौनकाण्ड भएका थिए । तर, त्यतीबेला गोप्य रुपमा मिलापत्र हुन्थ्यो। हाकिमविरुद्ध उजुरी गर्न महिला प्रहरीहरू डराउथे। पछिल्लो समय भने उजुरी गर्ने प्रवृत्ति बढेको छ । प्रहरी नेतृत्व पनि यो विषयमा निर्मम बन्दै गएको छ।