महिला विश्वकपमा आजदेखि प्रि क्वाटरफाइनलका दुइ खेल हुने

काठमाडौं। अष्ट्रलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकप फुटबल २०२३ अन्तर्गत शनिबारदेखि प्रि क्वाटरफाइनलका खेल सुरु हुँदैछन् ।

शनिबार प्रि क्वाटरफाइनलका २ खेल हुनेछन्। नेपाली समय अनुसार आज १०:४५ बजेबाट पहिलो खेलमा स्वीट्जरल्याण्ड र स्पेन आमने सामने हुनेछन्। समूह ‘ए’ बाट स्वीट्जरल्याण्ड समूह विजेता बन्दा स्पेन समूह ‘सी’ बाट उप विजेता बनेको थियो।

यस्तै, शनिबार हुने अर्को खेल नेपाली समय अनुसार १:४५ बजेबाट जापान र नर्वे भिड्नेछन्। जापान समूह ‘सी’ को विजेता हो भने नर्वे समूह ‘ए’ को उपविजेता हो ।

न्युजिल्याण्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिता अगस्ट २० तारिखसम्म चल्नेछ।