पहिरोमा परी प्रहरी जवान नेपालीको मृत्यु

सांकेतिक तस्वीर

काठमाडौं। मकवानपुरमा सुख्खा पहिरोमा परी प्रहरी जवानको मृत्यु भएको छ। प्रहरी चौकी भैंसेमा कार्यरत प्रहरी जवान कीर्तिबहादुर नेपालीको मृत्यु भएको मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालले जानकारी दिए।

बिहीबार ड्युटी सकेर कार्यालय फर्कँदै गर्दा उनी लडेर सामान्य घाइते भएका थिए। त्यसपछि उपचारका लागि जिल्ला अस्पताल पुगेका उनी हिजै राति कार्यालय फर्कँदै थिए।

भीमफेदी गाउँपालिकास्थित प्रहरी चौकी भैंसेभन्दा १ किलोमिटर टाढा बुलबुले भन्ने स्थानमा सुख्खा पहिरोसँगै आएको ढुंगा उनीमाथि खसेपछि गम्भीर घाइते भएका थिए।

राति १२ बजे पुनः जिल्ला अस्पताल पुर्‍याइएकोमा आज बिहान १ बजे उनको मृत्यु भएको एसपी रिजालले जानकारी दिए।

उनको शव जिल्ला अस्पतालमा राखिएको र परिवारलाई बुझाउने तयारी भइरहेको एसपी रिजालले बताए।