शिक्षा ऐनविरुद्ध शिक्षक महासंघले ग-यो आन्दोलन घोषणा

काठमाडौं । शिक्षण पेशाप्रति आकर्षण र सम्मानमाथि ठेस पुग्नेगरी ‘संघिय शिक्षा ऐन २०८०’ ल्याउन लागिएको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

नेपाल शिक्षक महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउन २८ देखि लागू हुनेगरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

स्थायी, अस्थायी, करार, राहत, साविक उच्च माध्यामिक विद्यालय, बालकक्षा, विशेष कक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार लगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारीका माग प्रश्तावित ऐनले सम्बोधन नगरेको भन्दै आन्दोलन गर्न बाध्य भएको उनीहरुले बताएका छन्।

महासंघका महासचिव लक्ष्मीकीशोर सुवेदीले सरकारका प्रतिनिधिहरुले आफूसँग छलफल नै नगरी मस्यौदा ल्याएको भन्दै आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनुभयो।

उहाँले अहिले सार्वजनिक भएको ‘विद्यालय शिक्षा ऐन २०८०’ ले प्रवन्ध गरेका केही दफाहरू संविधान प्रदत्त ट्रेड युनियन अधिकार, पेशागत सुरक्षा र स्वभिमानको विरुद्धमा रहेको बताउनुभयो।

नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले प्रश्तावित मस्यौदामा सम्बन्धित स्थानीय तहको वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने अधिकार विद्यालयको हकहीतका लागि नहुने बताउनुभयो।

उहाँले सरकारले ट्रेड युुनीयनको अधिकार हनन गर्न खोजेको बताउनुभयो। शिक्षकलाई दुःख दिँदैमा शिक्षाको गुणस्तर नसुध्रिने बताउनुभयो।महासंघले शिक्षकमैत्री शिक्षा ऐन नआए आन्दोलनलाई जारी राख्ने चेतावनी दिएको छ।