नेपाल टेलिकमको टावरमा अर्को सेवा प्रदायकबाट क्षति,अन्य सेवा प्रदायकको टावर नबनाउने सहमति

काठमाडौं। रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा अवस्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकबाट क्षति पुगेको छ।

टेलिकमको टावरदेखि २० मिटर नजिकै अन्य सेवा प्रदायकको टावर निर्माण गरिएको कारण नेपाल टेलिकमको सोलार प्यानलमा अवरोध भइरहेकोमा केही दिन पहिले सोलार पावर सिस्टमको तार समेत काटी क्षति पुर्‍याइएको टेलिकमले जनाएको छ।

सोही सम्बन्धमा नेपाल टेलिकमका प्राविधिकहरूले प्रमाणसहित गाउँपालिकामा जानकारी प्रस्तुत गरेपछि गाउँपालिकाको रोहवरमा दुवै पक्षबीच छलफल गराइएको थियो।

गाउँपालिकाका अध्यक्ष शुकबहादुर बुढामगर र प्रमुख प्रशासकीय अधिकृत प्रेम जिएम लगायत दुवै पक्षका बीचमा गत शुक्रबार भएको छलफलमार्फत आगामी दिनमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने यस्ता कार्य नदोहोर्‍याउने सहमति भएको जनाइएको छ।