महिला टी–ट्वान्टी क्रिकेटमा आज उपाधिका लागि नेपाल र हङकङ भिड्दै

फाइल तस्वीर

काठमाडौं । मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधिका लागि शनिबार नेपाल र हङकङबीच खेल हुँदैछ।

नेपाल र हङकङबीचको फाइनल खेल मलेसियाको बायोमास मैदानमा नेपाली समय अनुसार बिहान पौने १२ बाट सुरु हुनेछ। चार देश सम्मिलित सिरिजमा नेपाल पहिलो र हङकङ दोस्रो भएर फाइनल प्रवेश गरेका हुन्।

लिग चरणमा भएको भेटमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो। तेस्रो स्थानको लागि शनिबार नै मलेसिया र कुवेतबीच प्रतिस्पर्धा हुनेछ।

समूह चरणको अन्तिम खेलमा शुक्रबार नेपाललाई ६ विकेटले पराजित गरेपनि आयोजक मलेसिया नेट रनरेटमा पछि पर्दै फाइनलमा पुग्न असफल भयो।

नेपाल,हङकङ र मलेसियाले ३ मध्ये समान २–२ खेलमा जित हात पार्दै ४–४ अंक जोडेको थियो। तर,नेट रनरेटमा नेपाल र हङकङ फाइनलमा प्रवेश गरेका हुन्। कुवेतले भने ३ वटै खेलमा पराजय भोग्यो।