सामाजिक सद्भाव भड्काएर राजनीतिको रोटी सेक्नु गलत: सभापति लामिछाने

फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक तथा जातीय सद्भाव भड्काएर राजनीतिको रोटी सेक्नु गलत भएको भन्दै सामाजिक र जातीय सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका छन्।

शनिबार बिहान एक कार्यक्रममा बोल्दै लामिछानेले प्रमुख राजनीतिक दलहरू सुन,भ्रष्टाचार लगायतका काण्ड ढाकछोप गर्न लागि परेको आरोप लगाउँदै लामिछानेले जातीय, क्षेत्रीय तथा धार्मिक द्वन्द्वको भूमरिमा मुलुकलाई धकेल्ने काम नगर्न आग्रह गरेका छन्।

आज जातिय सद्भाव भड्काउन पाइयो भने भ्रष्टाचारका यत्रा काण्डहरू सामसुमरथामथुम हुन्छ होला भनेर त्यतातिर आगो झोसिरहेका छन,उनले भने,खबरदार त्यो आगोमा पेट्रोल र मट्टितेल हाल्ने काम कसैले नगर्नु होला।

सामाजिक सद्भाव कायम गर्न आफू पानी हाल्न तयार रहेको जनाउँदै उनले सबैलाई कानुनको पालना गर्न आग्रह गरे। उनले भने,कानुन विपरीत कार्य हामी कसैले पनि गर्न हुँदैन।

त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा सद्भाव खलबल्याउने कुरा, एक अर्काको बिचमा बैमनस्यता खडा गर्ने कुरा र त्यसबाट राजनीतिको रोटी सेक्ने काम कसैले पनि गर्न हुँदैन।

उनले समाजको सद्भाव खलबल्याउनेबाट सचेत हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा लेखिएका कुराको पछि लाग्न नहुने बताए। त्यस्तै उनले सबै मिलेर बेथितिको विरुद्ध लड्नुपर्नेमा जोड दिए।