नेप्सेमा २० अंकको गिरावट

काठमाडौं । आज नेप्से परिसूचक घटेर बन्द भएको छ।अघिल्लो कारोबार दिन घटेर बन्द भएको नेप्सेले आइतबार पनि घट्ने क्रमलाई निरन्तरता दिएको हो।

बजार घटेसँगै नेप्से पुनः २००० बिन्दुभन्दा तल झरेको छ । गत साताको दोस्रो कारोबार दिन पनि नेप्से २००० बिन्दुभन्दा तल झरेको थियो।

आइतबार नेप्से परिसूचक २० दशमलव ५४ अंक घटेर १९९३ दशमलव ३८ विन्दुमा झरेको छ। त्यसैगरी, आइतबार सेन्सेटिभ इण्डेक्स ३ दशमलव ४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १ दशमलव ४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव १९ अंक घटेको छ।

नेप्सेसँगै आइतबार कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार डेढ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आइतबार २८० स्टकको ३८ हजार ६६६ पटकको कारोबारमा १ अर्ब २६ करोड २७ लाख रुपैयाँ बराबरको ३८ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको मकर जीतुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९ दशमलव ६३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आइतबार एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । १३ उपसमूहमध्ये आइतबार म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ।