उपमेयरले कर्मचारीमाथि हातपात गरेपछि मुसिकोट नगरपालिकामा ताला

काठमाडौं।उपमेयरले कर्मचारीमाथि हातपात गरेको भन्दै रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा ताला लगाइएको छ।

नगरपालिका उपप्रमुख बिमलकुमार पुनले पालिकाका शिक्षा अधिकृत नरेन्द्र ओलीमाथि हातपात तथा दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरुले आइतवार तालाबन्दी गरेका हुन् ।

अहिले कर्मचारीहरुले मूल गेटमै ताला लगाएर धर्ना दिएका छन्। मूल गेटमै ताला लगाएपछि नगरपालिका सबै सेवा ठप्प भएका छन्।कर्मचारीहरुले हातपात गर्ने उपप्रमुखमाथि कडा कारवाही गर्नुपर्ने माग राखेका छन्।

त्यस्तै प्रमुख प्रशासकिय अधिकृतले कर्मचारीको बैठक बसाल्नुपर्ने, कर्मचारीहरुलाई भरपर्दो शान्ति सुरक्षाको वातावरण मिलाउनुपर्ने, नगरपालिकामा कार्यरत कर्मचारीको गल्ती भए कानुन बमोजिम कारबाहि गर्नुपर्ने माग नगरप्रमुख समक्ष राखेका छन्।

कानूनको कार्यान्वयनमा जनप्रतिनिधिहरू पन्छिएर कर्मचारीहरुलाई दोष लगाउने कार्यको अन्त्य हुनुपर्ने, जनप्रतिनिधि र कर्मचारीहरूले एक अर्काको भूमिका र काममा हस्तक्षेप गर्न नपाउने र उच्च स्तरिय न्यायिक छानबिन समिति गठन गरिनुपर्ने उनीहरुको माग छ।

के हो विवाद 

शनिबार मुसिकोटको-१ स्थित त्रिभुवन जनता माध्यामिक विद्यालयको उच्च माध्यामिक तहको लेखा विषयको शिक्षक पदपुर्तीको लागि विषयमा लिएर विवाद भएको थियो।

विद्यालयमा शिक्षक पदपूर्ती गर्र्न काम भइरहेको बेला उपप्रमुख पुनले शिक्षा अधिकृत ओलीलाई प्रमुख प्रशासकीयको कार्यकक्षमा हातपात तथा दुर्व्यवहार गरेको आरोप कर्मचारीहरुले लगाएका छन्।

शिक्षक पदपूर्तिको लागि काम भईरहेको बेला परिक्षा रोक्न भन्दै नगर उपप्रमुखले आफूमाथि हातपात तथा दुव्र्यवहार गरेको शिक्षा शाखा प्रमुख ओलीले बताए। उनले आफूहरु परिक्षाको तयारीमा जुटेको बेला निमित्त प्रमुख प्रशासकिय अधिकृतको कार्य कक्षमै हातपात गरेको बताए।

‘विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,प्रधानाध्यपक,निमित्त प्रमुख प्रशासकीय अधिकृत र म बसेर परिक्षाको तयारीमा जुटेका थियौं’ उनले भने,त्यति नै बेला उप–प्रमुख आएर हातमा रहेको कागजात खोसेर ममाथि हातपात गर्नुभयो।

उनले आफूलाई उपप्रमुखले दुई पटक झापड हानेको बताए। उनले उपप्रमुखविरुद्ध प्रहरीमा समेत उजुरी दिएको बताए।

यता,उपप्रमुख पुनले आफूले कर्मचारीलाई हातपात नगरेको बताउँछन्। शनिबार आफूले अनियमित तरिकाले बिद्यालयको कर्मचारी भर्ना गर्न खोज्ने प्रक्रिया रोक्नमात्र माग गरेको उनले बताए।सेटिङ मिलाएर कर्मचारी भर्ना गर्न खोज्ने प्रवृतिको अन्त्य गर्न आफू लागेको तर हातपात भने नगरेको उनको भनाइ छ।