महानगरपालिकाले क्रिकेट रङ्गशाला निर्माणमा पहल गर्ने मेयर साहको उद्घोष

फाइल तस्वीर

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट रङ्गशाला निर्माणको पहल गर्ने बताउनु भएको छ।

एशिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न सोमबार श्रीलंका पुगेका नेपालीहरुको प्रशंग उल्लेख गर्दै सामाजिक सञ्जाल मार्फत मेयर साहले यस्तो बताउनुभएको हो।

काठमाडौं आसपासमा एक सय रोपनी जति जग्गा सरकारले उपलब्ध गराए त्यसमा क्रिकेट मैदान बनाउने पहल महानगरपालिकाले गर्ने उहाँको भनाइ छ।

रङ्गशाला र केहि ठूला प्रतियोगिताहरु हुने हो भने खेलको सहज विकास हुन सक्ने भन्दै उहाँले एउटै प्रतियोगिताबाट करोडौँ रुपैयाँ आर्जन सकिने पनि बताउनु भएको छ।

महानगरपालिकाले खेलाडी र तल्लो तहका खेलाडीको सिकाइका लागि सकेसम्म हरेक वडामा बलिङ नेट राख्ने प्रबन्ध यसअघि नै गरिसकेको पनि उहाँले जानकारी दिनुभएको छ।

नेपाल र भारतबीचको खेल हेर्न विश्वका विभिन्न देशमा रहेका करीब दुई हजार नेपालीहरु सोमबार श्रीलंका पुगेको भन्दै श्रीलंकाको अध्यागमनका कर्मचारी समेत चकित पर्दै एकै पटक नेपालीहरु ओईरिनुको कारण सोधेको साहको भनाइ छ।

श्रीलंका खेल हेर्न पुगेको नेपालीहरुले मात्रै करीब ३० करोड रुपैयाँ बराबरको खर्च गरेको हुनसक्ने पनि मेयर शाहको अनुमान छ।

उनले लेखेका छन्-  
फ्यानको रुपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा श्रीलंकाको अध्यागमन (Immigration) को कर्मचारीको प्रश्न थियो, “यति धेरै नेपालीहरु एक्कासी श्रीलंका किन आइरहेका छन् ?” श्रींलंकाको अध्यागमन चकित पर्ने गरिको संख्यामा नेपालीहरु त्यहाँ पुग्दै थिए ।
त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०-५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरुको संख्या १५०० देखि २००० को बिचमा थियो । नेपाली क्रिकेट फ्यानहरु विभिन्न देशबाट श्रीलंका पुगेका थिए । अनुमानित हिसाब गर्ने हो भने त्यहाँ पुगेका सबै नेपालीहरुको मात्रै खर्च ३० करोड पुग्यो होला ।
टिभीमा देखिने बिराट, रोहीतहरुलाई आँखा अगाडि मैदानमा देख्न पाएका थियौँ । उनीहरुको हाउभाउलाई प्रत्यक्ष अनुभव गर्न पाइन्थ्यो । खेलको सुरुमा उनीहरुको हाउभाउ नेपालीलाई सजिलै जितिनेमा ढुक्क भए जस्तो देखिन्थ्यो । विश्वकै उत्कृष्ट खेलाडिहरुमा नेपालसँग खेल्दा त्यस्तो हाउभाउ देखिनु अस्वभाविक पनि थिएन । तर जसै खेल बढ्यो, जसै नेपालको ब्याटिङ अगाडि बढ्दै गयो, तब त भारतीय खेलाडिहरुको हाउभाउ पुरै रक्षात्मक बनिसकेको थियो । ठीक त्यहि बेला हामीले क्रिकेट जित्यौँ । अन्तिम नतिजा जे आए पनि हामीले यसपटकको एसिया कपमा पाउने जति पाइसकेका थियौँ ।
गजबको कुरा के थियो भने त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केहि प्याराफिट र अलि बढि सुविधा । नेपालमा त्यहि स्तरको रंगशाला जग्गा बाहेक ८०-९० करोडमा नै बन्छ सायद ।
यसैले नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ । यस्तो मात्रै रंगशाला र केहि ठुला खेलहरु हुने हो भने खेल विकास हुन सक्छ । र, एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ । त्यो बाहेक खेलाडि र तल्लोतह (Grassroot) मा सिकाइ सुविधाका लागि अबको ३ बर्षमा सकेसम्म हरेक वडामा एक हुने गरि बलिङ नेट (Bowling Net) राख्ने प्रबन्ध पहिले नै गरि सकेको छौ ।