प्रचण्ड सरकारको विकल्प खोज्ने बेला भयो: नेता कोइराला

फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकारको विकल्प खोज्ने समय आएको बताएका छन्।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ सरस्वतीमा बिपी वाटिकाको उद्घाटन पश्चात् पत्रकारहरूसँगको कुराकानीमा नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय र धार्मिक तथा सामाजिक सहिष्णुता भड्काउने प्रकारका अभिव्यक्ति व्यक्त गरेको बताए ।

सरकारको नेतृत्व गरिरहेका व्यक्तिले नै सामाजिक द्वन्द्व भड्काउने गरी सडक आन्दोलनमा युवाहरू उतार्ने लगायतका अभिव्यक्ति दिएको प्रति उनले आपत्ति प्रकट गरे ।

सो विषयमा कांग्रेसले सरकारलाई आफ्नो ट्र्याकमा ल्याउन पहल गर्ने उनले बताए। सरकार आफ्नो ट्र्याकबाट बाहिर गइरहे वा अहिले कै रवैया कायम राखेको खण्डमा काँग्रेसले सरकारको नेतृत्वको परिवर्तन बारे छलफल तथा पहल अघि बढाउने उनको भनाई छ।

‘प्रधानमन्त्रीले नै नेपालमा जातीय राज्य कायम गर्ने, युवाहरूलाई सडकमा उतार्ने लगायतका अभिव्यक्ति दिँदै आएका छन्। यसले जातीय, धार्मिक तथा सामाजिक सहिष्णुता भड्काउन मद्दत गर्छ।

सामाजिक द्वन्द्व भड्काउने प्रकृतिको अभिव्यक्ति दिन सरकारको नेतृत्व गरिरहेका व्यक्तिले दिन मिल्दैन,उनले भने, ‘प्रधानमन्त्रीले यस्ता समस्याहरू समाधान गर्नुपर्छ। हामी सरकारलाई सही बाटोमा हिँड्न सुझाउँछौ।

अब सरकार सच्चिएर अघि बढ्दैन भने फरक ढङ्गबाट कांग्रेसले सोच्नुपर्छ । सरकारको नेतृत्वको विषयमा कांग्रेसले छलफल र पहल अघि बढाउँछ ।

सरकार सञ्चालन भएको खण्डमा देश अप्ठ्यारो स्थितमा पुग्ने दाबी गरे । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुनुपर्ने उनले बताए।

कांग्रेसको काधमा लोकतन्त्र र राष्ट्रियतालाई बचाउने जिम्मेवारी आएको उनले बताए । कांग्रेसको नेतृत्वमा देश समृद्ध बन्ने र लोकतन्त्र र राष्ट्रियता बलियो हुने उनको भनाइ छ।

‘कांग्रेस देशको ठुलो दल हो । काँग्रेससँग ९० सिट छ। अहिलेको सरकार र राष्ट्रियता लोकतन्त्रलाई बचाउने विषयमा पार्टीमा छलफल गरेर अघि बढ्नुपर्ने अवस्था आएको छ । हाम्रो पार्टीमा संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था रहेको उनले भने।