कान्ति बाल अस्पताल प्रकरणमा दोषीमाथि कारबाही गर्ने स्वास्थ्य मन्त्री बस्नेतको प्रतिबद्धता

फाइल तस्वीर

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणमा दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएका छन्।

इजिप्टमा आयोजित कार्यक्रममा सहभागी भएर आइतबार नेपाल फर्किएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुरा गर्दै सो कुरा बताएका हुन्। 

गत सोमबार मकवानपुर थाहा नगरपालिका १० घर भई हाल काठमाडौँको बाफल बस्ने पाँच वर्षीय रेजिशा गोपालीको समयमा उपचार नपाउँदा अस्पतालमा मृत्यु भएको आफन्तले बताएका छन्। मन्त्री बस्नेतले भने–यस घटनाबारे म बाहिर हुँदा पनि चासोका साथ हेरेको छु।

समयमा उपचार नपाएर बालिकाको मृत्युमा भएको भन्ने छ। मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ। जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ। मैले कारबाही नै गर्नुपर्छ भनेको छु। 

बालिका मृत्यु प्रकरणको छानबिन गर्न कान्ति बाल अस्पतालले समिति गठन गरिसकेको छ। सो घटनाको सत्यतथ्य छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएको छ।

अस्पतालले डा.प्रकाश जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। सदस्यमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डम्बरु दाहाल रहेका छन्।

५ देखि ८ तारिखसम्म इजिप्टको राजधानी कायरोमा सम्पन्न जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर मन्त्री बस्ने स्वदेश फर्किएका हुन्। कार्यक्रममा धेरै देशका स्वास्थ्यमन्त्री र विभिन्न दातृ निकायका प्रतिनिधिहरूको सहभागी रहेको थियो।

बस्नेतका अनुसार कार्यक्रममा जनसङ्ख्या विशेष गरेर बसाइसराइ र अव्यवस्थित बसोबासले स्वास्थ्य क्षेत्रमा परेका समस्याहरूको बारेमा छलफल भएको थियो।

त्यस्तै आधारभूत स्वास्थ्य सेवा दिने कुरालाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर रणनीतिक विषयहरूमा पनि छलफल भएको थियो।