सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति,आन्दोलन फिर्ता

काठमाडौं। सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ। आइतबार भएको आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारबीचको सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएका छन्।

डाक्टरमाथि भएको आक्रमणको विरोधमा आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारको वार्ता टोलीबीच स्वास्थ्य मन्त्रालयमा छलफल भएको थियो। स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव विकास देवकोटाको संयोजकत्वमा भएको वार्ता ६ बुँदे सहमति भएको छ।

सरकारी वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा.विकास देवकोटा,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय मन्त्रालयका सहसचिव रहेका थिए।

यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिलविक्रम कार्की,महासचिव डा सञ्जीव तिवारी लगायत रहेका थिए।

भदौ २७ गते मकवानपुरको हेटौँडामा सन्चो अस्पतालका डाक्टर विकास थापा र डा. प्रशान्त विडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो।

नेपाल चिकित्सक संघले डाक्टरमाथि आक्रमण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन दबाब दिँदै आइतबार देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पारेको थियो। सहमतिसँगै अस्पतालका सबै सेवा सुरु हुने नेपाल चिकित्सक संघले जनाएको छ।