गणतन्त्र मात्र हाेइन अग्रगामी जनगणतन्त्र ल्याउन संघर्षरत छाैं: नेता सीपी गजुरेल

फाइल तस्वीर

काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता सीपी गजुरेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फरक अवधारणा भएको बताएका छन्।

मंगलबार पत्रकारसँगको अन्तरक्रियामा नेता गजुरेलले एमसीसीलाई अमेरिकाको इन्डोप्यासिफिक स्ट्राटेजी (आईपीएस) को अंग भएको भन्दै त्यसले मुलुकको हित नगर्ने बताए।

बीआरआई व्यापारसँग सम्बन्धित विषय हो। यो नेपालका लागि आवश्यक विषय हो। एमसीसी अमेरिकाको दक्षिण एसियामा सैन्य प्रभुत्व जमाउनका लागि ल्याइएको रणनीतिक योजना अन्तर्गतको परियोजना हो,उनले भने,त्यसैले हाम्रो पार्टी एमसीसीको बिरोध र बीआरआईको सपोर्ट गर्छौं।

बजार सानो वा ठूलो हुनसक्ने, तर देश सानो वा ठूलो नहुने भन्दै नेपालले पनि उद्योग व्यवसाय गर्न सक्ने बताए। त्यसका लागि मुलुकको राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै मजबुत अर्थतन्त्रको निर्माण गर्नुपर्ने उनको भनाइ छ।

भूराजनीतिक चलखेलका कारण मुलुकमा धार्मिक द्वन्द्वको बिजारोपण हुने खतरा बढेको भन्दै सबैले सचेत हुनुपर्ने उनको भनाइ छ।

‘धरानमा घटना घट्नुभन्दा पहिले नै बीजेपीले आफ्नो चुनावी प्रयोजनका लागि त्यो परिस्थिति सिर्जना गर्नसक्छ भनिएको थियो। नभन्दै त्यसको केही दिनमा भयो पनि त्यस्तै,उनले भने,भारतको दंगा भारतमा मात्रै सीमित नरहन सक्छ। त्यसैले हामी पनि सचेत रहन जरुरी छ।

उनले दुरुपयोग गर्दा जुनसुकै धर्मले पनि समाजलाई राम्रो नगर्ने भन्दै त्यसलाई समाजमा एक अर्का विरुद्ध प्रयोग गरिनु नहुने बताए।

‘धर्म व्यक्तिको निजि कुरा हो। यसलाई बिकृत रूप दिन जरुरी छैन,उनले भने,भारतमा पनि नेपालको जस्तै हिन्दु धर्म छ। तर नरेन्द्र मोदीले आफ्नो चुनाव जित्ने अस्त्र बनाएका कारण अहिले हिन्दु मुस्लिम तनाव भैरहेको छ।

उनले आफ्नो पार्टीले धर्म निरपेक्षतालाई पनि कसैले दुरुपयोग गरोस् भन्ने भन्दा पनि व्यक्तिको निजी विषय भएका कारण स्वीकार गरेको बताए।

उनले राजनीतिक स्वार्थका लागि धर्मको प्रचार गरेर धर्म निरपेक्षताको दुरुपयोग गरिएको बताए। ‘हामीले धर्म निरपेक्षता स्वीकार गरेको हो। तर हिन्दू धर्मका केही विषयमा प्रश्न गर्नु भनेको कृश्चियन धर्मको समर्थन गर्ने भनेको होइन,उनले भने,अर्को धर्म मान्नै दिँदैनौं भन्नुभन्दा धर्म निरपेक्षता धेरै असल कुरा हो। राजतन्त्रभन्दा गणतन्त्र तुलनात्मक हिसाबले सहि छ।

उनले आफ्नो पार्टी अहिलेको गणतन्त्रभन्दा पनि राम्रो र अग्रगामी जनगणतन्त्र ल्याउन चाहेको बताए। अहिले उत्पन्न सम्पूर्ण समस्याको जड संविधान भएको भन्दै हल दिन नसकिरहेको बताए।

यसका लागि उनले सर्वपक्षीय सम्मेलनमार्फत चुनावमा नगएर पनि सरकारमा जान सकिने व्यवस्था गर्नुपर्ने बताए। अहिलेको संविधानले प्रधानमन्त्री प्रचण्डजस्तै जनताबाट अलग गराउने उनको भनाइ थियो।

‘प्रचण्डले आफूलाई सत्ताबाट निकाले लाखौं मान्छे सडकमा उतार्ने भन्दै थिए। आफै प्रधानमन्त्री हुने,आफैं सडकमा उत्रिन्छु भन्नू स्वाभाविक होइन’,उनले भने यो संसदीय व्यवस्थाले पुर्‍याउने नै यहीँ हो। त्यसैले हामी यो मान्दैनौं।