टीकापुर घटनाका ३ जना कारागारबाट रिहा हुँदै

काठमाडौं। संविधान दिवसको अवसरमा टीकापुर घटनाका मुद्दा खेपिरहेका ३ जना कैदी बन्दी कैलाली काराबारबाट रिहा हुने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका ३ जनासहित ९ जना रिहा हुने भएका हुन्।

सो मुद्दा अन्तरगत रिहा हुनेमा टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रहेको कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दिए। उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए।

त्यस्तै पोखरास्थित बाल सुधार गृहमा रहेका जानकी गाउँपालिका–७ लट्कनियाका श्रवण चौधरी पनि रिहा भएको बताइएको छ।

यसअघि सो मुद्दामा ३ तहको अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरीलाई राष्ट्रिय गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते कैद मुक्त गरिएको थियो।