आजदेखि शिक्षक महासंघले राजधानी केन्द्रीत आन्दोलन थाल्दै

काठमाडौं । नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौंंमा आन्दोलन शुरु गर्ने भएको छ।शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै महासंघले काठमाडौं केन्द्रित सडक आन्दोलन गर्न लागेको हो।

महासंघले आन्दोलनमा सहभागी हुन आज बिहान ११ बजे माइतीघर मण्डला सहभागी हुन शिक्षकहरूलाई आग्रह गरेको छ। त्यसका देशका सवै जिल्लाहरुबाट शिक्षकहरु काठमाडौं आईपुग्दै छन्।

जिल्ला जिल्लाबाट गाडी रिजर्भ गरेर शिक्षकहरु राजधानी आएका छन् ।शिक्षकहरु आन्दोलनतर्फ लागेपछि देशका अधिकांश विद्यालयहरुमा पठनपाठन प्रभावित हुने देखिएको छ।

महासंघले शिक्षा विधेयकप्रति १८ बुँदे असहमति राखेको छ। सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्ने लगायतका असहमति उनीहरुका छन्।

सरकारले शिक्षकहरुलाई वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ । तर शिक्षा मन्त्रालयले गर्ने वार्ताबाट समस्या समाधान नहुने शिक्षक महासंघको अडान छ। महासंघका अध्यक्ष कमला तुलाधार र महासचिव लक्ष्मीकिशोर सुवेदीले विज्ञप्ति जारी गर्दै आन्दोलन नरोकिने बताएका छन्।