काठमाडौंको शान्तिबाटिकाबाट द्रुत बस सेवा सुरु

काठमाडौं। सरकारले काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सुरु गरेको छ। संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन्।

द्रुत बस सेवा सूर्यविनायक-रत्नपार्क रुटमा चल्ने छ। आज उद्घाटन भए पनि भोलिदेखि मात्र सर्वसाधारण यात्रुको सेवामा द्रुत सेवाका बस चल्ने छन्।

उद्घाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायात मन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तथा मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयरहरु चढेर यात्रा गरेका छन्।

यात्रुहरुका लागि भने असोज ४ गते बिहीबारदेखि मात्रै द्रुत बस सेवा सञ्चालन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए।

अरु सार्वजनिक बसलाई रत्नपार्क-सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ। माइतीघर,कोटेश्वर, जडीबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिनु नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन्।

रत्नपार्क-सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभागले जनाएको छ।

द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५र५ मिनेटको फरकमा छुट्नेछन्। ती बसहरु रातो रंगले पोतिएको लेनमा मात्र चल्ने छन्। यी लेनहरुमा दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन्।